१० हजार मेघावाट मात्र होइन २० हजार मेघावाट बिजुली निकाल्न पनि सम्भव छ

डाक्टर महाबिर पुनको नेपाल सरकारलाई खुलमखुला चुनौती ! के नेपाल सरकार र राजनैतिक दलमा हिम्मत छ ?

mahabir pun
१० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ | त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ| ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ | १० बर्ष भित्रमा नेपालमा एउटा Silicon Valley बनाउन पक्कै सकिन्छ , १५ बर्ष भित्रमा नेपालमा लाखौँ साना उद्ध्यमीहरु उत्पादन गर्न पक्कै सकिन्छ | २० बर्ष भित्रमा अधिकांश नेपालीहरु ले नेपालमा नै जागीर खान पाउने बातावरण बनाउन पक्कै सकिन्छ , अनि ३० बर्ष भित्रमा नेपालीहरु बाट नै बिज्ञान तथा प्रविधिको बिकास गरि नेपाल लाई एउटा बिकसित देश पक्कै बनाउन सकिन्छ | यी कामहरुको लागि म ग्यारेन्टी दिन्छु र यी कुराहरु गर्न कसरी सम्भव छ भनेर बादबिबाद गर्न पनि तयार छु |

यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने |

तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ | सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो | राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन |

एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं | त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् | तर त्याहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् | उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् | मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन | त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा |

दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन् |

सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न | यो पोष्टको बारेमा कमेन्ट गर्नु आबश्यक छैन र तर्क बितर्क गरेर समयखेर फाल्न पनि राम्रो हुँदैन | मन पर्यो भने लाइकसम्म गर्नु होला | मन नपरे पनि ठिकैछ किन भने संसारमा सबै मानिसको सोचाइ एकै हुँदैन |

१७ फाल्गुन २०७२

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo