१२ महिनामा संयुक्त अरब इमिरेट्स ६६ जना नेपालीको मृत्यु

सन् २०१६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ६६ जना नेपालीको ज्यान गएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ६० जना पुरुष र ६ जना महिला छन् । अघिल्लो तीन वर्षमा क्रमश: ६४ (०१५), ६३ (०१४), र ७८ (०१३) जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १९ देखि ४१ बर्ष उमेर समूहका छन् ।

दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हृदयाघात भई सबैभन्दा बढी नेपालीको ज्यान गएको छ । हृदयाघात (२२), रोग (८), मादक पदार्थ सेवन (५), आत्महत्या (११ ), सडक दुर्घटना (८), डुबेर (४),  कार्यक्षेत्र (३), हत्या (३) र अन्य (२) कारणले ज्यान गएको छ ।

अर्यालले कामदारहरूमा सचेतनासम्बन्धी जानकारी गराउन सकेमा मृत्युदर घटाउन सकिने बताए । ‘हाम्रो मुख्य समस्या हृदयाघात हो । दोस्रो आत्महत्या र सडक दुर्घटना हो,’ उनले भने,‘हामीले कामदारलाई बेलाबेला परामर्श दिन जरुरी छ ।’

गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष सुदीप कार्कीले यूएई आउनुअघि कामदारको स्वास्थ्य परीक्षणमा बिशेष जोड दिनुपर्ने बताए । ‘खानपान र बसोबासमा ध्यान दिनुपर्छ । नेपालबाट मुटु परीक्षण गराई आएमा र मानसिक तनाव घटाउन सके धेरै जनाको ज्यान जोगिने सम्भावना छ,’ उनले भने ।

कान्तिपुर

२१ पुष २०७३

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo