प्रधानमन्त्री दाहालको दावी झुट भन्दै सर्वोच्च अदालतद्वारा विज्ञप्ति नै जारी

‘संसारमा पचाउनका लागि सबैभन्दा गाह्रो लाज हो, लाज पचाउन सक्नेले संसारका सबै कुरा पचाइदिन सक्छ’ भन्ने भनाईलाई एकै हप्तामा दुईवटा लाज प्रमाणित लाज पचाएर प्रधानमन्त्री पुष्पकमल दाहालले चरितार्थ गरेका छन् ।

पहिलो झूठः सर्बाेच्चको खण्डन 

पुस २१ गते प्रधानन्यायाधीश सुशीला कार्कीबारे लाज पचाएर विवादास्पद अभिब्यक्ति दिएका प्रधानमन्त्री दाहाललाई त त्यो लाजले छोएन तर, त्यसको भोलिपल्ट सर्बाेच्च अदालतले विज्ञप्ति नै निकालेर दाहालको भनाईको खण्डन गर्नु पर्यो । भारतले भने अनुसार संविधान संशोधन प्रस्ताव अघि बढाउन वाध्य दाहाल त्यो काम फत्ते गर्न जेसुकै झूठो बोल्न र जोसुकैलाई विवादमा तान्न पनि पछि परेनन् । २१ गते मधेसी मोर्चासँगको बैठकमा दाहालले भने– प्रधानन्यायाधीश सुशीला कार्कीलाई मैले फोन गरेँ, उहाँले संविधान संशोधन प्रस्ताव बकाइदासँग अघि बढाए हुन्छ भन्नु भो । जव राय सुझाव नै नलिएको कुरामा प्रधानन्यायाधीश लाई मुछेर दाहालले अभिब्यक्ति दिए तव २२ गते सर्बाेच्च अदालतले विज्ञप्ति निकालेर खण्डन गर्यो– ‘सम्माननीय प्रधान न्यायाधीशज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई संविधान संशोधनका विषयमा कुनै प्रकारको राय सल्लाह दिने काम नभएको एवं राय सल्लाह दिने नगरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’ यसले प्रधानमन्त्री दाहाललाई कुनै लाज भएन ।

दोस्रो झूठः सभामुखको कक्षपछाडि उभिएको कानुनमन्त्रीको तस्बिर 

भारतको मिसन पूरा गर्न दाहालले फेरि झूठ बोलेर अर्काे लाज पचाए । संसदीय पद्दति र परम्परा विपरित संविधान संशोधन प्रस्ताव अघि बढाउन पूर्वछापामा सभामुख ओनसरी घर्तीलाई प्रयोग गरेर दाहालले अर्काे झूठ बोलेका छन्– एमालेको सहमतिमै संशोधन प्रस्ताव अघि बढाइएको हो । चितवनमा सोमबार आयोजित कार्यक्रममा दाहालले केपी ओलीसँग वान टु वान वार्तामा संसद खोल्ने सहमति भएको भन्दै झूठ बोले ।

तर, संसदमा आइतबार भएको अर्कै थियो । आइतबार निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गर्न रोष्ट्रममा पुगेका कानुनमन्त्री अजयशंकर नायकलाई सभामुखको कक्षका पछाडि उभिन लगाएर उपप्रधानमन्त्री विमलेन्द्र निधिको साटो उनैलाई संविधान संशोधन प्रस्ताव टेबुल गर्न लगाइएको थियो । निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गर्न गएका उनलाई त्यहीँ उभ्याएर संशोधन टेबुल गर्न लगाएका दाहालले पद्दति विपरित घटनाबाट लाज मानेनन्, बरु उल्टै झूठ बोले–एमालेको सहमतिमै भएको हो ।

दाहाल दोस्रो पटक कसरी प्रधानमन्त्री भएका हुन् भन्ने दृश्य सर्वसाधारणको मनमा अझै कैद छ । नेपाललाई नाकाबन्दी लगाएर गलाउन खोज्ने शक्तिले आफ्नो योजना पूरा गर्न दाहाललाई आफ्नो गोटी प्रधानमन्त्री बनाएको छर्लङ्गै छ । त्यसैले आफूलाई ‘बनाइदिने’का लागि नेपालको संविधान संशोधन गर्न दाहाल जतिसुकै झूठ बोल्नु परे पनि जतिसुकै लाज पचाउनु परे पनि अग्रसर नहुने कुरै थिएन । अव त प्रधानमन्त्री दाहालले आफ्ना भनाईमा ‘देश’ शब्द उच्चारण गरे भने त्यो देश पनि नेपाल हो कि भारत भन्न खोजेका हुन् भनेर खोज्नु पर्ने बेला आउन थालेको छ ।

चक्रपथबाट

२६ पुष २०७३

 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo