गिरिजा र प्रचण्ड भनेका ‘सडकछाप’ हुन् ! किन यस्तो भने चर्चित विश्लेषक सौरभले ? पढ्नुस

नेपालीहरू हिन्दु होइनन्

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष’ र ‘असहमति’ प्रकाशित छन् । ‘असहमति’लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित मैनालीसँग उनको सहकार्यमा पश्चिमा लेखकले नेपाली इतिहासबारे गरेका गलत टिप्पणीको संग्रह ‘ब्रेकिङ नेपाल’ हालै प्रकाशित छ । समकालीन मुद्दामा फरक कोण प्रस्तुत गर्ने सिलसिलामै उनले ‘असंगति’ लिएर आएका छन् । ‘असंगति’को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि दीपक सापकोटाले गरेको कुराकानीः

तपाईंको लेखनको अभीष्ट के हो ?

– भित्री नेपाल, वास्तविक नेपालको खोजी ।

 तपाईंको लेखनमा अनेकन विषय आउँछन्, सन्दर्भ पनि त्यत्तिकै हुन्छन् । विषयको छनोट कसरी गर्नुहुन्छ ? स्रोत र सन्दर्भसम्म कसरी पुग्नुहुन्छ ?

– छनोट गरेर लेख्दिनँ । कुनै विषयको अन्तिम रहस्यले स्ट्राइक गर्‍यो भने आफूले पढ्दै, देख्दै, सुन्दै आएका कुराहरूको तारतम्य खोज्छु । शोध पनि सम्झने प्रयास गर्छु, किताबका पानाहरू सम्झने प्रयास गर्छु, फेला पारेँ भने उल्लेख पनि गर्छु । सम्झिन नसकेको बेला सकिनँ भनेर लेखेको पनि छु ।

 राजनीति, समाज, इतिहास र संस्कृतिबारे लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । विश्वविद्यालयका विभागहरूबाट कस्तो खालको प्रतिक्रिया पाउने गर्नुभएको छ ?

– औपचारिक प्रतिक्रिया त पाएको छैन । तर, प्राध्यापन गर्ने धेरै मित्रले बेलाबेला सम्पर्क भने राख्नुहुन्छ । सकारात्मक हुनुहुन्छ उहाँहरू ।

समाज विज्ञान र वनस्पतिशास्त्रलाई नेपाली सन्दर्भमा जोडिरहनुभएको छ । नेपाली समाज बुझ्न वनस्पतिशास्त्रको अध्ययन पनि उपयोगी हुनसक्छ भन्ने महसुस कसरी भयो ?

– ‘नेपाली समाज’मात्र होइन विश्वकै समाज ‘उपयोगी हुनसक्छ’ होइन अनिवार्य । किनभने पृथ्वीमा पहिले वनस्पति उत्पत्ति भएको हो र पछि जीव । अध्ययन गर्‍यो भने सबैभन्दा बढी वनस्पति, त्यसपछि सैन्य गतिविधि र विगत सय-डेढ सय वर्षयता विज्ञान र प्रविधिबाट भाषाका क्रियापदहरू आएका छन् ।

 किताबको नाम ‘असंगति’ राख्नुको तात्पर्य के हो ?

– भएकै कुरा भनौं ? ‘असहमति’को प्रकाशकलाई त्यो शीर्षक अर्कोले नलिइदिए हुन्थ्योजस्तो लागेको मैले बुझेँ, नयाँ प्रकाशकलाई अर्कोले निकालेको शीर्षक लिन मन लागेन । यसैले ‘असहमति-२’ राखौं भन्ने मेरो प्रयास सफल भएन । भित्रपट्टि ‘असहमति-२’ राखिन पुग्यो । अब तेस्रो खण्ड निकाल्दा बरु तीनवटैको शीर्षक ‘असहमति’ नै राखौंला ।

तपाईंका लेख-रचनामा सन्दर्भसामग्री राम्रोसँग खुलेका हुँदैनन् । ‘असंगति’ भित्रको एउटा लेखमा तपाईंले समाज विज्ञानको ‘इम्पेरिकल’ र ‘होलिस्टिक एप्रोच’माथि नै व्यंग्य गर्नुभएको छ । लेखनलाई विश्वसनीय बनाउन सन्दर्भसामग्री खुलाउनुपर्छ, लेखनको वैज्ञानिक पद्धति अपनाउनुपर्छ, होइन र ? विषयसूचीदेखि अनुक्रमणिकासम्म भएको पुस्तकमा सन्दर्भ सामग्री भने छैन । अलि अपूरो भएन ?

– यो कुनै डिग्रीका लागि लेखेको थेसिस होइन, कट एन्ड पेस्टको पोका बनाउनलाई । तैपनि ब्राकेटभित्र सयौं ठाउँमा स्रोत खोलेको छु । पूरै किताब नपढी अरूको उद्धरणलाई झिकेर आफूले जुटाएको उद्धरणजस्तो बनाइदिने एकथरी लेखकलाई असजिलो पार्नकै निम्ति राम्रोसँग नखुलाएको मात्रै हो । कसैले व्यक्तिगत सम्पर्क राखेमा स्रोत बताउन सधैं तयार छु तर मानिस हेरेर मात्र ।

जहाँसम्म ‘इम्पेरिकल’ र ‘होलिस्टिक’ एप्रोच भन्नुभयो, सामग्री नपढेर अन्दाजका भरमा यो फलानो एप्रोचअन्तर्गत पर्छ भनेर बिल्ला लगाइदिने प्राडाहरूमाथिको व्यंग्य हो त्यो । सामग्रीका आधार चाहिन्छ भन्नेमा शंका छैन ।

विदेशी लेखकका नेपालसम्बन्धी लेखाइमा ‘एथ्नोसेन्ट्रिजम’ हावी भएकाले नेपालको वास्तविकता बुझाउन पश्चिमी किताब उपयोगी हुँदैनन् भन्ने गर्नुहुन्छ । तर, तपाईं स्वयंचाहिँ ‘एथ्नोसेन्ट्रिजम’बाट ग्रस्त हुनुहुन्छ भनेर आलोचकहरू भन्ने गर्छन् । हुन पनि तपाईंले जर्मनीमा आराध्यदेव शिवको उपासना गरिन्थ्यो भन्नुभयो, लेख्नुभयो । देशप्रेमको आग्रहले गर्दा यदाकदा आफ्नो लेखनको तथ्यपरकतामा सम्झौता गर्नुपर्दो रहेछ भन्ने तपाईंलाई लाग्दैन ?

– प्रश्नका तीनै कुरा गलत । जातीय एथ्नोसेन्ट्रिस्टहरूले केही भन्ने ठाउँ नपाएपछि ‘मेरी बिल्ली मुझसे म्याउँ’ भन्ने उखान चरितार्थ गरेको मात्र हो त्यो । जर्मनीमात्रै किन; युरेसियाले नै थोहर, दोनर, जियस, पजिडन, बाल आदि अनेकौं नाममा शिवलाई पूजा गर्ने गरेकै हो दुई हजार वर्ष अघिसम्म । अब देशप्रेमका नाममा सम्झौता कहाँनेर भयो ? तपाईं नै जवाफ दिनुस् ।

 तपाईंका लेखन पढ्दा कस्तो लाग्छ भने संसारका सारा सभ्यता, संस्कृति, नाचगान, धर्मदेखि खानपिन र खेलकुदसम्म सबैको उद्गम नेपाली भूमि हो । के तपाईंको ठम्याइ यही हो ? यो बुझाइ ‘अतिवाद’कै पर्याय होइन ?

– यो पनि ठ्याम्मै गलत हो । संसारका सारा भनेको छैन मैले । तर, सगरमाथा, गोर्खाली र बुद्धको जन्मस्थलजस्ता पहिचान मात्र हो नेपालको भनेर मान्न म तयार छैन । अरू तीस चालीसवटा नेपालबाट अन्यत्र गएका छन् भन्नेमा म पुगेको छु । अहिले त पन्ध्र बीसवटाको बारेमा मात्र लेखेँ । यतिमै तपाईंजस्ता पाठकहरू आत्तिसक्नुभा’छ । अरू बीसवटाका बारेमा लेखेँ भने अतिवादीमात्र किन अरू पनि के-के भन्नुहोला । पुरानो नेपाललाई चिन्ने कौतूहलता पनि हुनुपर्‍यो होइन र ? तर, तपाईंको प्रश्नले हामीहरू आफ्नो परिचय पाउँदा पनि आफैंलाई चिन्न नसक्ने कस्तो हीनताबोधले ग्रस्त छौं भन्नेको प्रतिनिधित्व गर्छ ।

तर, नेपालको मानव बस्ती त आप्रवासीहरूबाट सुरु भएको भनिन्छ नि । संसारका विभिन्न भूभागमा नगर सभ्यताको विकास गरेका मानिसहरू बसाइँ सरेर आएको ठानिन्छ, तपाईंको मान्यता के हो ?

– संसारका सबै देश त्यस्तै त हुन् नि । केन्याको ग्रेटरिफ भ्यालीलाई छोडेर अरू सबै देश आव्रजकहरूकै त हुन् । काठमाडौं उपत्यकामा ६ हजार वर्षअगाडि बसोबास रहेको संकेत पाइन्छ । त्यसैले नेपाल आप्रवासीहरूको बस्ती मात्र होइन ।

एउटा लेखमा तपाईंले हिन्दु धर्मभित्रको शैव मत नेपाली हो र वैष्णव मत विदेशी हो भन्नुभएको छ । यसरी ‘माइक्रो लेभल’मै गएर ‘ह्वी एन्ड अदर्स’को सीमा कोर्दा यसले समाजलाई विभाजन र विग्रहमा लैजान्छ, होइन र ?

– अवश्य । सनातन परम्पराभित्र रहेर पनि जसले एक अर्को मतलाई छिछि र दूरदूर गर्छ त्यो नेपाली धार होइन । सनानत परम्पराको मर्म नै धर्म सापेक्षता तर पन्थ निरपेक्षता हो । झोल, काट्नु जस्ता शब्द उच्चारणसमेत गर्न नहुने, टीकाका दर्जनौं आकारप्रकारअनुसार गुट बाँध्ने यस्तो प्रथाले बरु समाजलाई विभाजन र विग्रहमा लैजान्छ । तपाईंले मलाई होइन तिनलाई विग्रहकारी भन्न सक्नुपर्‍यो ।

 मगर समुदायमाझ प्रचलित पाङ्दुरे नाच शिवको ताण्डव नृत्यको जरो हो भनेर ‘असंगति’मा दाबी गर्नुभएको छ । यस्तो लेख्दा तपाईंमाथि गैरहिन्दु जनजातिहरूलाई हिन्दुत्वको घानमा हाल्न खोजेको आरोप लाग्दैन ?

– फेरि पनि बुझाइ गलत लाग्छ । शिवलाई नेपालका सबैले पुज्छन् । त्यस यथार्थलाई भारतीयहरूले पनि ग्रहण गरेका हुन् । तर, अब शिवभन्दा हिन्दु जस्तो बुझिन थालेको छ । आफ्नो परिचय गुमाएपछि यस्तै अनर्थकारी व्याख्या हुन्छ । तैपनि एउटा कुरा भनिहालौं, मैले आफूलाई कहिल्यै हिन्दु भनेको छैन । हामी नेपाली हिन्दु होइनौं; शैव हौं । मस्टोपुजक हौं, सनातन हौं । हिन्दु भनेका भारतीय हुन् । विगतमा दर्जनपटक मञ्चमा उभिएर बोल्नुपर्दा पनि मैले संविधान हिन्दु होइन सनानत धर्मसापेक्ष हुनुपर्छ भनेकै छु । खोजिदिनुहोला भिडियो रेकर्ड । राई, मगर, लिम्बू, गुरुङ, थारू सबैलाई समेट्नुपर्छ भनेर आदि धर्मसापेक्ष संविधान भन्ने लेख नै लेखेको छु । यसैले गैरहिन्दुलाई कसरी हिन्दु, कहिले हिन्दु, कहाँबाट हिन्दु घानमा हाल्न खोजेँ मैले ?

 त्यसो भए नेपालमा हिन्दुचाहिँ को हुन् ?

– हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने तर मस्टो पूजा नगर्ने र बोन्पो नमान्नेहरू पनि भारतबाटै कुनै समयमा आएका हिन्दु हुन् । हामी सबै समेटिने शब्द भनेको हिन्दु होइन, ओमकार परिवार हो ।

त्यसो भए बुद्ध र बोनहरू पनि ओमकारभित्र पर्छन् ?

– ओमकारभित्र पर्छन् ।

 नेपाल राम्रोसँग बुझेको नेपाली र विदेशी लेखकका नाम पाऊँ न ?

– योगी नरहरिनाथ, जनकलाल शर्मा, हर्क गुरुङ, धर्मराज थापा, महेन्द्र आदि आदि हुन् । विदेशीका कुरा गरौं भने लेभीको ‘नेपाल’को सुरुमै नेपालबारे पढ्नुपर्ने अंग्रेजी किताब भनेर एउटा लामो सूची दिइएको छ । मामाको त भांग्राको धोती अरूको के गति ? सम्झना हुन्छ त्यो सूची हेर्दा । कुन नाम खोज्नु र खै ?

यति छलफल गरेपछि मलाई सोध्नैपर्ने लागेको प्रश्न हो— तपाईंको निम्ति नेपाली को हो ? नेपालीपन के हो ? के भएपछि नेपाली भइन्छ ? के नहुँदा अनेपाली भइन्छ ?

– ठाडै कुरा भनौं ? जन्म र वंशले जसलाई कानुनले नेपाली मानेको छ ती नेपाली हुन् । अंगीकृत कुनै हालतमा नेपाली होइनन् । राजेन्द्र महतो जस्तालाई नेपाली मान्न म कदापि तयार छैन । तरल कुरा भनौं भने टाई लगाउने, सुटलाई राष्ट्रिय पोसाक बनाउन खोज्ने पुष्पकमल लगायतलाई नेपाली भन्न मन लाग्दैन मलाई । यसो भन्दा ‘ए यसले त लुगामा नेपालीपन देखेछ’ भन्ने बुज्रुकहरू पनि छन् हामीकहाँ । मोटामोटी रूपमा भन्दा कुनै न कुनै रूपमा विदेशी सम्प्रभुता स्वीकार्ने कोही पनि नेपाली होइनन् ।

 थोरै प्रसंग मोडौं र लेखनमै जाऊँ । तपाईंको भाषामा विनम्रता त्यति पाइँदैन । वाक्य निर्माण पनि विनिर्माणवादीहरूको जस्तो हुन्छ । ‘असंगति’मा तपाईंले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाललाई ‘सडकछाप’ भन्नुभएको छ । शब्द चयनको सवालमा तपाईं निर्मम र रूखो किन हुनुहुन्छ ?

– सडकछापको चरित्र हुन्छ— अहिले एक छाक खोसेर भए पनि खाइहालूँ, लुटेर भए पनि खाइहालूँ, पिटाइ खान परे पनि खाइयोस्, जेल जान परे पनि गइयोस् । शासन गर्न पूरै अक्षम हुँदाहुँदै जसरी भए पनि पदमा पुग्नैपर्ने, अझ राष्ट्रपति हुनैपर्ने गिरिजामती देख्नुभएकै हो । अनि राष्ट्रपति हुन नपाएको कारणले नर्भस ब्रेक-डाउन भएर बितेको पनि देख्नुभएकै हो । पुष्पकमल भित्ते राष्ट्रपति भएको पनि हेर्नुभएकै हो । धमिजा काण्डले जेल पुगिएला भन्ने त्रासले गिरिजा झन्डै बेहोश भएको पनि हेर्नुभएकै हो । अन्तर्राष्ट्रिय फौजदारी अदालत पुग्नुपर्ला भनेर पुष्पकमल त्राहिमाम भएको हेरिरहनुभएकै छ । पुत्रीका निम्ति गिरिजाले कांग्रेसको मर्यादाक्रम ध्वस्त पारेको पनि देख्नुभएकै हो । पुत्रीलाई चुनाव जिताउन पुष्पकमल मतपत्र च्यात्न लगाउने तर त्यसलाई विधिविज्ञान प्रयोगशालाको इलेक्ट्रोनिक माइक्रोस्कोपमा पठाउन नचाहने दृश्य पनि हेरिरहनुभएकै छ । ‘सडकछाप’ शब्द भन्नुस्, कसरी निर्मम र रूखो भयो ?

 तपाईं साहित्यलाई ‘रछ्यान’ भन्नुहुन्छ । तर, ‘असंगति’को पहिलो खण्डअन्तर्गतका लेखहरू साहित्यको निबन्धविधाका सशक्त नमुनाजस्ता देखिन्छन् । कुनै बेला साहित्यमा कलम चलाएबापत अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्नुभएको थियो । फेरि साहित्यप्रति अनुराग पलाउन थालेको हो, तपार्इंमा ?

– ओहो ! साहित्यसँग प्रसंग जोडिएपछि मलाई लाज लागेर आउँछ । त्यसतर्फको कुरै नगरौं ।

‘नजल्नुपथ्र्यो सुम्निमा’ लेखमा तपाईं लेख्नुहुन्छ, ‘राई लिम्बूहरू राम्ररी पढ्दैनन् । जो सुम्निमा जलाउन तम्सिने अगुवा थिए, तिनले राम्ररी पढेनन् । तिनलाई पढ्नै परेन, लहैलहैमा लागेर आगो झोसे, पुगिहाल्यो ।’ यो त एउटा समुदायप्रति नै तपाईंको बायसनेस भयो, होइन र ?
– खास कुरालाई जेनरलाइज नगरिदिनुस् । आफैं बायस नहुनुहोस् । ‘नभएको किरात काल’ र ‘नजल्नुपथ्र्यो सुम्निमा’ यी दुइटा लेखको सन्दर्भमा मात्रै भनिएको हो त्यो कुरा । बाह्रै महिना, बाह्रै कालको अर्थमा होइन ।

परिचय खोसेको कसले’ लेखमा तपाईंले ‘मधेस भन्ने छैन’ भन्नुभएको छ । लेख्नुहुन्छ, ‘न औपचारिक रूपमा नेपालको सिमानाभित्र मधेस थियो, न नेपालको सीमा अहिले जति मिचिएको नै थियो भन्ने स्पष्ट छ ।’ तर, हालैको एक अन्तर्वार्तामा एक विश्लेषकले तराई भन्ने शब्दावलीले शासकको हेय दृष्टि बताउने भएकाले मधेस शब्द नै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । तपाईंको यस्तो लेखन पुरानै शासकहरूको सोचको निरन्तरता कसरी होइन ?

– हो, मैले भनेँ । तर, म जन्मनुभन्दा अघि नै यो कुरा त बाबुराम आचार्यले भनिसकेका रहेछन् । जुन ‘असंगति’मा छापिएकै छ । अब कुनै विश्लेषकलाई उसको मतिमा के लागेको छ भन्ने कुरामा के तुक ? कसैलाई त्यो शब्दले राजनीतिक अभीष्ट पूरा गर्नु छ भन्ने बुझ्दाबुझ्दै पुराना शासकको सोचको निरन्तरता भन्लान् भन्ने डरले नक्कली क्रान्तिकारी मलाई हुनु छैन । र, थप कुरा; पुराना शासक सही छन् भने तिनलाई नमान्ने किन ? पुराना शासकसँग जोडिएला भनेर अरूरुको लघुशंकामा बग्ने कुरा पनि आउँदैन ।

पछिल्लो दशकको नेपाली राजनीतिक तथा सामाजिक परिवर्तन पहिचान, पुनःसंरचना र पहँचसँग जोडिएको छ । तर, यही दशकमा तपाईंले लेखेका लगभग सम्पूर्ण लेखमा यी विषयप्रति गहिरो अरुचिमात्र होइन; तीव्र वितृष्णा नै पाइन्छ । यस्तो वितृष्णाले नेपाली समाजमा खलबल मच्चाउँदैन ? तपाईंले संकेत गरेजस्तै यी मुद्दा बेतुकका नै हुन् भने एक दशकको कोकोहोलोको अर्थ के ?

– खलबल मच्चाए मच्चाउँछ । आफू बन्दुक बोक्ने अनि हामी शान्तिकामी भन्ने ? यस्तो फटाहा कुरा पनि हुन्छ ? पहुँचको कुराबाहेक परिवर्तनका लागि भएका यी परिवर्तन नक्कली हुन् । के नराम्रो नतिजा आउँछ ? १०/१२ वर्षभन्दा बढी पर्खनु पनि नपर्ला, त्यति बेला नेपाल फिजी बनेपछि थाहा होला । अरुचि र वितृष्णामात्र भन्नुभयो; मेरो त घृणा, तिरस्कार सबै छ । विदेशीले जन्माइदिएको यो दशकको कोकोहोलो होइन गृहयुद्धको सुआत हो । हेर्दै जानुहोला, बेहोर्दैै जानुहोला ।

 ‘पराधीन स्वतन्त्र’ लेखमा ‘नेपाली जनता लुटेरा छन्, त्यहाँ स्वाभिमान भन्ने कुरा कसरी रहन्छ ? ‘ भनेर लेख्नुहुन्छ । सारा जनतालाई सोलोडोलो एउटै डालोमा खाँद्नुभएको छ । यसको आशय छ, ‘नेपाली जनता स्वतन्त्र हुन योग्य छैनन् ।’ यसले नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा गम्भीर चोट पुगेको छ । के नेपाली जनताको आत्मसम्मान छैन ?

– अरूका देशमा भाँडा माझ्न र उँट चराउन जानु परेको छ । के स्वाभिमान ? के आत्मसम्मानमा गम्भीर चोट ? आत्मसम्मान भए अरूका देशमा बसाइँसराइ गर्न यत्रो हत्ते किन हाल्छन् नेपाली ? नेपाली जनतालाई भन्यो भन्नुभयो, कुरा अलि मिलेन । के म पनि नेपाली होइन ? म सामेल नेपाली जनताको आत्मालोचना हो त्यो । हामी जनतै गणेशमानको भेडो छौं त के गर्ने ?

कतै लोकतन्त्रको प्रयोग र उपयोगमा देखिएका कमजोरीले तपार्इंको मनोविज्ञान आमजनतामाथि आक्रोशित रूपमा पोखिएको त होइन ?

– भारतले ‘नेपालतारा’लाई ‘भारतरत्न’जस्तै ‘नेपालरत्न’ बनाउन लगायो । हाम्रो ‘माथिल्लो सभा’लाई आफ्नो जस्तै ‘लोकसभा’ बनाउनलाई त्यो तपाईंले भन्नुभएको ‘तन्त्र’ शब्द चलायो । म त प्रजातन्त्रबाहेक त्यो शब्द कहिल्यै प्रयोग गर्दिनँ । जहाँसम्म त्यसको प्रयोगको कुरा छ, कमजोरी होइन प्रयोग नै इन्जिनियर्ड छ । आमजनता पनि त्यसमा सहायक छ । आक्रोश होइन, आक्षेप होइन, यथार्थ हो ।

 अब पुस्तकबाहिर जाऊँ । बेलाबेला अन्तर्वार्तामा देखिनुहुन्छ । कार्यक्रमहरूमा बोल्नुहुन्छ । कतिपय तपाईं उपस्थित हुने कार्यक्रममा भेटिने मानिसहरूलाई देख्दा तपाईंको अडान केमा हो भनेर सोच्न बाध्य भइन्छ । तपाईं नै खुलाइदिनुस् न, नेपालको राजनीतिक प्रक्रियामा तपाईंको अडानको बिन्दु के हो ?

– स्पष्टै भनूँ, संघीयता र धर्मनिरपेक्षतालाई किमार्थ स्वीकार्दिनँ । भारतसँग सीमा नजोडिएको भए, अझ पूर्ण रूरुपमा सीमा बन्द भएको भए गणतन्त्र सम्भवतः स्वीकार्य हुन्थ्यो । तैपनि रक्षा र परराष्ट्रको मामिलामा भिटो भएको आलंकारिक भन्दा एकरत्ति हकअधिकार भएको राजतन्त्र खोजेको होइन । सम्पूर्ण सामाजिक संस्था, व्यापारिक संस्थामाथि नागासन हालेर बसेको, बब हेयर र गगल्समा उनीहरू मात्र छाइरहने कुनै राजतन्त्र खोजेको होइन । तर, अब त यो प्रश्नै रहेन । रक्षा र परराष्ट्रको हविगत हेरिरहनुभएकै होला ।

‘राजा महेन्द्रपछिको आत्मबल ओलीमा देखियो’ भनेर अन्तर्वार्ता दिनुभयो । ओलीको प्रधानमन्त्रित्वकाल सम्भवतः पछिल्लो दशकको सबैभन्दा विवादास्पद शासकीय अवधि हो । उनले परिभाषित गरेको ‘राष्ट्रवाद’मा ‘हावादारी सपना’ बढी र आफ्नै नागरिकको सम्बोधन कम भए भन्ने टिप्पणी व्यापक छ । तर, तपाईं एमालेभन्दा पनि बढी एमाले भएजस्तो देखिनुभयो । आमपाठकले सौरभलाई ओलीको फ्रेमभन्दा कति टाढा वा नजिक राखेर हेर्ने ?

– कसरी विवादास्पद भयो ? भारतसँग अडान लिनु र चीनसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नुलाई विवादास्पद भन्नुभयो भने त्यो भारतीय कोण हुन्छ, लैनचौर कोण हुन्छ । सपना नदेख्ने त कर्मचारी हुन्छ, नेता हुँदैन । उदाहरणका निम्ति राष्ट्रिय वाणिज्यका पूर्वखचाञ्जी माधव नेपाल नै छन् । साँच्चैको नेता भएको भए प्रधानमन्त्री हुन दरबारमा दरखास्त हाल्दैनथे, दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुने लुच्याइँ पनि गर्दैनथे । सपना नदेख्नेले नागरिकको सम्बोधन झन् गर्नै सक्दैन । जहाँसम्म एमालेभन्दा बढी एमाले भयो भन्नुभयो र ओलीको फ्रेमसँग जोड्नुभयो, त्यहाँनेर अलिकति संशोधन आवश्यक छ । महाकाली सन्धिकालको ओली र नदेखिने गरी तर माओवादीभन्दा पनि चर्को रूपमा दसौं हजार एनजीओमार्फत पश्चिमाहरूको एजेन्डा गाउँगाउँ विस्तार गरिरहेको एमालेको प्रशंसक म होइन ।

साभार -अन्नपूर्णपोस्ट

३० अषाढ २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo