अब सिधै सम्बन्धित देशको सरकारसँगै सम्झौता गरेर मात्र रोजगारीका लागि कामदार पठाउने तयारी

सरकारले सम्बन्धित देशको सरकारसँगै सम्झौता गरेर मात्र वैदेशिक रोजगारीका लागि कामदार पठाउने तयारी थालेको छ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्रसम्बन्धि विनियोजन शीर्षकमा सांसदहरुले उठाएको प्रश्नको जवाफका क्रममा संसद्लाई यस्तो जानकारी गराएका हुन्।

‘संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसदीय टोलीले कुवेत लगायतका देशको भ्रमण गरेको र वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा केही सुझाव दिइसकेको छ,’ महराले भने, ‘हामीले राजदूतावास र अन्य सरोकारवाला संस्थाहरुसँग समन्वय गरी काम गरिरहेका छौं।’

उनले वैदेशिक रोजगारीमा तेस्रो मुलुकको बाटो भएर जाँदा ठगीका समस्या ज्यादा देखिएको भन्दै त्यसलाई रोक्न कुटनीतिक पहल सुरु गरिसकेको बताए।

‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कन्सुलर सेवा सहज बनाउन काम भइरहेको छ। सबै राजदूतावासमा हटलाइन सेवा सुरु गर्न निर्देशन भइसकेको छ,’ महराले भने, ‘जी-टु-जी सम्झौता गरेर मात्र कामदार पठाउने पहल भइरहेको छ। इजरायलसँग सुरु भएको छ। अन्य मुलुकसँग पनि समझदारीमा पठाउने काम भएको छ।’

महराले श्रमिकहरुको समस्या समाधान गर्न नेपाली नियोग र गैर आवासीय नेपाली संघ लगायतसित पनि समन्वय गरिरहेको जानकारी दिए।
‘असंगठित र असुरक्षितरुपमा वैदेशिक रोजगारीमा जाने कुरा अन्त्य गर्न सरकारले सम्झौता गरिएका मुलुकमा मात्र कामदार पठाउने भनिएको छ,’ महराले भने, ‘कतार, बहराइन, युएई, जापान र कुवेतसँग दुई पक्षीय समझदारी गरिएको छ।’

महराले परराष्ट्रमा ११ दशमलव ७५ प्रतिशत बजेट वृद्धि भएको बताए। उनले कुटनीतिक क्षमता बढाउने, परराष्ट्र नीतिबारे अध्ययन गर्ने तथा नीति बनाउने र विदेशस्थित कुटनीतिक नियोगको भौतिक संरचनाहरु बनाउने र नेपालको छवि उठाउनका लागि बजेट खर्च गर्ने जानकारी दिए।

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo