डा.तोसीमा भन्छिन: याद राखौँ पटक पटक जन्मिदैनन् जनताको लागि लड्ने गोविन्द केसीहरु

त्यो अनिष्ठ दिनको कल्पना गर्ने हिम्मत छैन मसँग । तर, राज्यको कुम्भकर्णीय निन्द्राले बेला–बेला त्यही दृष्य आँखा अगाडि ल्याइरहेको छ, कतै डा गोविन्द केसी…

उनी भोकै लडेको कयौ दिन भयो । यसरी भोकै बसिरहँदा कति दिन धान्ला उनको शरीरले ?

डा. केसी त्यसरी लडिरहेका छन् । जुन हाम्रो क्षमता भन्दा धेरै माथि छ  । थाक्दैनन् उनी । लडिरहेका थिए, लडिरहेका छन् र लडिरहनेछन् । तर दिन प्रतिदिन जिर्ण हुँदै गएको उनको शरिर यदि थाक्यो भने ?

 

हजुर, हो । तपाई पनि । म पनि । हामी सबै त्यो मृत्युको भागेदार हुनेछौँ ! मृत्युको हैन, त्यो हत्याको । हत्यारा हुनेछौं हामी । हत्याराको समाजको हैसियत के हुन्छ ?

आफूलाई असल मानव ठान्छौं हामी । भन्छौं– अन्याय गर्नु पाप हो । अनि अन्याय हुन दिनु नि ?  अन्याय विरुद्ध नबोल्नु चाहिँ ? त्यो त झन् महापाप हो ! हामी त्यही महापाप गर्दैछौँ ! अन्याविरुद्ध नबोलेर ।

राज्यले हाम्रै आँखाअघि झुटो सम्झौता गर्छ, छल गर्छ र हरेक पटक सत्यको लागि लड्ने योद्धालाई घुाँडा टेकाउँछ । अनि हामी टुलु–टुलु हेर्छौ मात्र ! हद्दै भए, ‘आईएम विथ जीकेसी’ लेख्छौं । अनि सकिन्छ एउटा औपचारिकता । र, निभ्छ हामीभित्र बलेको अन्याविरुद्धको ज्वाला । के त्यति मात्रै हो त हामीले गर्न सक्ने ? के त्यत्ति हो, हाम्रो दायित्व ?

यो लडाइँ डा. गोविन्द केसीको मात्र हो ? केका लागि लडिरहेका छन् उनी ?  अन्याय र अत्याचार विहीन राज्यको परिकल्पना गर्ने हरेकको लडाइँ होइन र ? अन्यायन नगर्ने र नसहने असल मान्छेहरुको लडाइँ होइन र ?

नेपालमा सर्वशुलभ स्वास्थ्य सेवा र शिक्षा होस् । गरिबले पनि उपचार पाओस् । गरिबका छोरा पनि डाक्टर बनुन्, भन्ने चाहना तपाईंको होइन ? मेरो होइन ? किन हाम्रो भएन यो चाहना ? किन डा केसी एक्लैको हो जस्तो गरिरहेका छौं हामी ?

तपाईं हामी यो देशका तिनै द्रव्यपिशाचहरुकै हातमा सुम्पन चाहन्छौँ सधैंका लागि कि ? तीनै दुष्टहरुलाई देश लुटिरहन, न्याय, सत्य र निष्ठामाथि  बलात्कार गर्न दिइनरहन चाहन्छौं कि ? चाहन्छौ अन्त्य । जो, के सही के गलत छुट्याउने ल्याकत राख्छौं, जो पढेलेखेका ठान्छौं आफूलाई, जो आफूसँग बोल्न सक्ने शक्ति छ जस्तो ठान्छौं । हामी किन चुप छौं, पर्खिरहेका के छौं ?

तपाईंलाई एउटा दुर्कल्पना गराउन खोज्दा पनि आत्मग्लानी भइरहेको छ । आफैंप्रति खेद छ । तर, तपाईं हाम्रो यही रवैयाले एकदिन यस्तो दृष्य देख्नुपर्नेछ– तपाईं बिहानै चियाको चुस्की लिएर पपत्रिकाको पाना पल्टाउन थाल्नुहुनेछ । तर, पत्रिकाका पहिलो पेजमै आँखा अडिनेछ । छांगाबाट खस्नुहुनेछ । एउटा मान्छेलाई होइन, त्यहाँ न्यायलाई, असमानतालाई, आवाज विहीनको आवाजलाई कफन ओढाइएको तस्बिर देख्नुहुनेछ ।  यदि त्यस्तो देख्नुभयो भने के गर्नुहुन्छ तपाई ? असल मान्छे हो भने, सत्यको पक्षधर हो भने धिकार्नु हुनेछ आफूलाई । तान्नुहुनेछ लामो श्वास । त्यतिन्जेल तपाईंले चाहे जस्तो देश बन्ला भन्ने थोरै अपेक्षा पनि जलिसकेको हुनेछ । त्यो दिन कल्पना गर्दा आङ जिरिङ्ग भयो कि  भएन तपाईलाई ? यी शब्दहरु लेखिरहँदा मेरा त हात काँपिरहेका छन् ।

त्यो अन्धकार दिन झेल्ने हिम्मत छैन मसँग । सायद तपाईसँग पनि छैन होला । त्यसपछिको विरोध, त्यसपछिको आँशुको कुनै अर्थ हुनेछैन । जति अहिले हाम्रो एकथोपा पसिना अर्थ छ । एक शब्द बोलिदिँदा अर्थपूर्ण हुन्छ । एक पाइला बढिदिँदा अर्थपूर्ण हुन्छ ।

त्यतिबेला हामी सम्पूर्ण चिकित्सक, मेडिकल विध्यार्थी लगायत सम्पूर्ण चेतनशिल नागरिकको ठूलो हार हुनेछ  । मेडिकल माफिया र द्रव्यपिशाचहरुले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा राज गर्ने छन् ।

उनीहरुको विजय हुनेछ । शासन उनीहरुसँगै हुनेछ । हामीसँग हुनेछ त केवल आत्मग्लानी । पश्चाताप ।  अहिले कसैका पछि हिँडन् नसक्ने आफैं नेतृत्व कसरी गरौंला ?

आफूलाई असल नागरिक ठान्ने तपाईं त्यसपछि सक्नुहुन्छ, ऐनामा आफ्नै आँखासँग आफ्नो आँखा जुधाउन ? अहँ म त सक्दिनँ । कुन मुखले भनुँला त्यतिबेला ‘म असल डाक्टर हुँ । सेवा दिन्छु र दिन चाहन्छु’ भनेर ! जबकी एउटा असल मान्छे लड्दै गर्दा रमिता हेरें मैले । जबकी न्याय, समानता र सत्यको लागि लड्दै गरेको योद्धाले जीवन दाउमा राख्दा म बोलिनँ ।

त्यो दिन आउनेछैन । किनकि तपाईं बोल्नुहुनेछ । म  बोल्नेछु । हामी बोल्नेछौं । आजैबाट, अहिल्यैबाट यो चीरनिन्द्रामा रहेको राज्यलाई ब्युँझाउन, यो मेडिकल माफियाको जालमा फसेको सरकारलाई उम्काउन  ।

त्यसैले आउनुहोस्  । समस्त चिकित्सक समाज मिलौं । विद्यार्थी एक हौं । असल मान्छे अघि सरौं । डा केसीका लागि केही गर्ने होइन, हाम्रै लागि केही गरौं । हाम्रा सन्ततिका लागि केही गरौं ।

जे सकिन्छ गरौँ । दबाब दिउँ  । डा केसीसँग फेरि राज्यले झुटो सम्झौता नगरोस्  । आफ्नै लागि एकपल्ट फेरि लडौं । नेतृत्व त डा केसीले गरिसकेका छन् । ढिला नगरौँ ।

याद राखौँ– गोविन्द केसीहरु पटक–पटक जन्मिदैनन् ।

स्वास्थ्यखबरमा  २०७३ मङ्सिरमा प्रकाशित आलेख

२८ साउन २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu