‘तपाईंहरुलाई अमेरिकामा कुनै ठाउँ छैन, घर जानुस्’

अमेरिकाको भर्जिनिया राज्यको सार्लोट्स्‌भील्‌मा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछिको हिंसामा एक जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सो घटनाको निन्दा गरेका छन्।भर्जिनियाका गभर्नर टेरी मक्अलिफले चाहिँ सो समूहलाई घर जान भनेका छन्।


उनले भने, “तपाईंहरुले सबैलाई दु:खी बनाउनु भयो। मेरो सन्देश स्पष्ट छ हामी बलिया छौं। तपाईंहरु सफल बन्नु हुँदैन। तपाईंहरुलाई यहाँ कुनै ठाउँ छैन। तपाईंहरुलाई अमेरिकामा कुनै ठाउँ छैन।”

‘ह्वाइट् सुप्रिमेसिस्ट्’
गभर्नर टेरी मक्अलिफले गोरा जातिको सर्वोच्चता चाहाने ‘ह्वाइट् सुप्रिमेसिस्ट्’ र नव नाजी समर्थक आफ्नो विरोधीसँग भिडन्तमा उत्रिएलगत्तै आफ्नो प्रतिक्रिया दिएका हुन्।

तनाव चर्किएपछिको हिंसामा एक जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।प्रदर्शनको विरोधीले गोरा प्रदर्शनकारीहरुको भिड रहेको स्थानमा तीव्र गतिमा कार कुदाएका थिए। त्यसक्रममा एक व्यक्तिको ज्यान गएको र १९ जना घाइते भएको बताइएको छ।सो कारका चालक पक्राउ परेका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले “असहिष्णुता व्यवहार”को भर्त्सना गरेका छन्।उनका आलोचकले गोरा जातिको सर्वोच्चता चाहाने ‘ह्वाइट् सुप्रिमेसिस्ट्’ विरुद्ध आवाज उठाउन ट्रम्पलाई आग्रह गरेका छन्।सार्लोट्स्‌भील्‍का मेयरले शहरमा बाहिरियाहरुले घृणा भित्र्याएको भन्दै दु:ख व्यक्त गरेका छन्।

गोरा राष्ट्रवादीहरुले सार्लोट्स्‌भील नगरबाट रोबर्ट इ ली नाम गरेका अमेरिकी गृहयुद्ध ताकाका जनरलको सालिक हटाउने निर्णयको विरोध कार्यक्रम गरेका थिए।बिबिसी नेपालीबाट

प्रकाशित : साउन २९ आइतबार-२०७४ 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo