निमेश गुरुङ अर्थात नेपाल र नेपालीले नचिनेको तर विदेशमा चम्किएका नेपाली प्रतिभा

-दीपेन्द्र गुरुङ

सिंगापुरको चर्चित दैनिक पत्रिका द स्ट्रेट्स टाइम्समा अघिल्लो महिना छापिएको एउटा समाचारले नेपाली खेलकुदलाई गर्व गर्ने क्षण दियो। स्ट्रेट्स टाइम्स आफैंले बर्सेनि आयोजना गर्दै आएको स्ट्रेट्स टाइम्स रनको पछिल्लो संस्करणमा नेपाली धावक पनि समावेश थिए, जसले तीन केन्याली धावकलाई पछि पार्दै दोस्रो स्थान हात पारेका थिए।

विश्वका विभिन्न देशका राम्रा धावक सहभागी रहेको सिंगापुरको उक्त प्रतिष्ठित दौडमा दोस्रो स्थान हात पारेपछि निमेश गुरुङसँग नेपालको नाम पनि जोडिएर आयो। त्यसैले निमेश र उनको प्रतिभाबारे खबर दिने त्यो समाचारले धेरै नेपालीको ध्यान तानेको थियो।
निमेश सिंगापुरमा आयोजना हुने यस्ता प्रतियोगितामा नियमित रूपमा सहभागी हुँदै आएका छन्। सन् २०१२ को अन्त्यबाट निमेशले सिंगापुरमा आयोजना हुने कुनै पनि प्रतियोगिता छाडेका रहेनछन्। निमेशले ती प्रतियोगितामा प्रतिस्पर्धा गरेर तीन सयभन्दा बढी त पदक नै जितिसकेका छन्। उनको कोठाको भित्तामा झुन्डिएका पदकमध्ये एक सय ५० जति त स्वर्ण नै छन्।

यसै महिना अमेरिकामा भएको विश्वभरका सुरक्षाकर्मीबीचको ओलम्पिक खेलकुद प्रतियोगिता ‘वल्र्ड पुलिस फायर गेम्स’को १० किलोमिटर र २१ किलोमिटर (हाफ म्याराथन) दौडमा स्वर्ण पदक जितेपछि सिंगापुरमै पनि निमेशको चर्चा चुलिएको छ।
सिंगापुरबाट प्रकाशित हुने पत्रपत्रिकाका रंगीन पृष्ठहरूमा निमेशको मेहनत र उपलब्धि छापिन थालेका छन् । उनले सिंगापुरको एथलेटिक्स महासंघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा त यसअघि नै त्यहाँका पहिलो नम्बरका खेलाडीलाई पनि पराजित गरिसकेका रहेछन्। व्यावसायिक रूपमा दौडन सुरु गरेको निकै छोटो अवधिमा यत्तिका सफलता हात पारिसकेका यी धावक सिंगापुरमा कसरी चम्किए त?

निमेश र मेहनत

संखुवासभा मादी मूलखर्क (हाल तेह्रथुम वसन्तपुर)का निमेश सिंगापुर पुलिसमा कार्यरत अघिकारी हुन्। उनी सन् २००८ को इन टेकमा भर्ती भएर सन् २००९ को सुरुमै सिंगापुर पुगेका थिए। त्यसपछिको तीन वर्ष उनी आफ्नो जिम्मेवारीमा खटिए ।
सन् २०१२ को अन्त्यतिर उनले आफ्नो युनिटभित्रै अन्य धावक दौडिरहेको देखे। नेपाली गाउँघरको उकालीओराली छिचोलिरहेका निमेश सिंगापुरमा पुगेर पुलिस ट्रेनिङका लागि पनि नियमित दौडिए। अन्य धावक दौडिरहेको देखेर पनि उनी यसतर्फ अझ लोभिए । उनलाई जति दौडियो त्यति शरीर हलुका भएको महसुस भयो।

लगत्तै आफ्नो युनिटभित्र भएको प्रतियोगितामा सहभागी उनी पहिलो नै बने। आफ्नो सुरुआती प्रयासमै निमेशले सन् २०१३ मा सिंगापुर पुलिसभित्रको पीएसए एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत पाँच हजार र एक हजार मिटर दौडमा १७ वर्ष पुरानो कीर्तिमान नै भंग गरे। ‘त्यो उपलब्धिले त मलाई झनै हौस्यायो। त्यसपछि नै हो मैले जागिरका अतिरिक्त दौडमा पनि भविष्य खोज्ने निधो गरेको । मेरो मेहनत पनि अझ बढ्न थाल्यो। त्यसपछिको ६ महिनामा मैले आफ्नो शरीरको तौलमात्रै १६ केजी घटाएँ’, अन्नपूर्णसँगको कुराकानीमा निमेशले भने।

युनिटभित्रको प्रतिस्पर्धामा आफूलाई जित्ने अन्य प्रतिस्पर्धी नै नभएपछि राम्रो पुरस्कार राशिसहित दौडको प्रतिस्पर्धा आयोजना भइरहने सिंगापुरका सानातिना प्रतिस्पर्धामा पनि उनले आफूलाई सहभागी गराउन थाले। ती प्रतिस्पर्धामा पनि निमेश पहिलो बन्न थाले। प्रतियोगितामा सहभागी हुन थालेको वर्ष दिन पनि नपुग्दै निमेश सिंगापुरको राष्ट्रिय खेलाडी सहभागी प्रतिस्पर्धामा आफूलाई पहिलो बनाउन सफल भए। त्यससँगै उनले सिंगापुरको ठूला प्रतियोगिता र देशबाहिर हुने अन्य प्रतियोगितामा समेत प्रतिस्पर्धाको अवसर पाए।
उनी सन् २०१५ मा हाफ म्याराथनतर्फ सिंगापुरको राष्ट्रिय च्याम्पियन बने। त्यसको एक वर्षपछि सन् २०१६ मा १० हजार मिटर र पाँच हजार मिटर दौडमा पनि उनी सिंगापुर च्याम्पियन बने। सुरुआतमा निमेशले मध्यम दूरीका प्रायः स्पर्धामा आफूलाई सहभागी गराए । पछिल्लो समय भने उनले हाफ म्याराथन र १० हजार मिटरमा आफूलाई निखार्दै लगेका छन्।

निमेश सन् २०१४ मै सिंगापुरबाट छनोट भएर मलेसियामा हुने माउन्ट किनाबलु अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा समेत सहभागी भए । सो प्रतियोगितामा केन्याका धावक पहिलो र जापानका धावक तेस्रो हुँदा निमेश दोस्रो बनेका थिए । त्यसपछि यसै महिना सिंगापुर पुलिसको च्याम्पियन बन्दै अमेरिकामा भएको वल्र्ड पुलिस फायर गेम्सको १० किलोमिटर र २१ किलोमिटर (हाल्फ म्याराथन)मा पनि स्वर्ण पदक नै जिते। विश्वका ६१ भन्दा बढी देशका सुरक्षा निकायका धावक सहभागी उक्त प्रतियोगिताको दुवै प्रतिस्पर्धामा अमेरिका, बेलायत, रुसलगायत देशका प्रतिस्पर्धीलाई पछि पार्दै निमेशले स्वर्ण पदक जितेका थिए।

निमेश अझै पनि मेहनत गरिरहेका छन् । उनी भन्छन्, ‘सिंगापुरमा दौड प्रतियोगिताहरू धेरै हुन्छन् । पुरस्कार राशि पनि राम्रो हुने भएकाले यहाँ अफ्रिकादेखि धेरै देशका राम्रा धावक आउँछन् । उनीहरूसँग प्रतिस्पर्धा गर्दा अझ राम्रो हुन्छ । अझै केही ठूला प्रतियोगिताहरू जित्ने उद्देश्य छ।’ निमेशले छोटो समयमै यति धेरै सफलता हात पारिसक्दा पनि आश्चर्यको कुरो उनीसँग अझै पनि प्रशिक्षक छैन । उनी बिनाप्रशिक्षक नै अहिलेसम्मको अवस्थामा आइपुगेका हुन् । उनी आफैं मेहनत गर्छन् र प्रतियोगिताहरूका क्रममा भेटिने अन्य राम्रा धावकहरूसँग कसरी राम्रो दौडन सकिन्छ भनेर टिप्स लिन्छन् । त्यसलाई व्यवहारमा उतार्छन्।

‘हामीजस्तो खेलाडीका लागि प्रशिक्षक राख्नु असम्भवजस्तै छ। हामी यहाँको प्रशिक्षकलाई पैसा तिरेर राख्न सक्दैनौं। युनिटभित्र पनि प्रशिक्षकको व्यवस्था छैन’, निमेश भन्छन्, ‘त्यसैले अहिलेसम्म अन्य धावक दौडिएको हेरेरै दौडिरहेको छु । राम्रा धावकहरूलाई भेटेर उनीहरूसँग कसरी राम्रोसँग दौडन सकिन्छ भनेर टिप्स लिन्छु अनि त्यसैलाई पछ्याउने प्रयास गर्छु।’

गरिबीले सिकाएको पाठ

संखुवासभाको ग्रामीण भेगमा रहेको निमेशको परिवार पूर्ण रूपमा खेतीमा निर्भर थियो। आर्थिक अवस्था कमजोर भएपछि निमेशका पिता दुर्गाबहादुर गुरुङ साहूसँग ऋण लिएर पैसा कमाउन साउदीतर्फ लागेका थिए। दुर्भाग्य दुर्गाबहादुर दुर्घटनामा परे। ज्यान त जोगियो तर, काम गर्न नसक्ने भएपछि स्वदेश फर्किए । घरमा साहूसँग लिएको ऋण फिर्ता गर्ने रकम भएन । त्यसैले साहूलाई आफ्नो घर र जायजेथा जिम्मा लगाएर उनी तेह्रथुमको वसन्तपुर बसाइँ सरे । निमेश र अन्य छोराछोरीलाई मामाघरमा छाडेर दुर्गाबहादुर वसन्तपुरमा मजदुरी गर्न थाले।

निमेशले त्यति बेलैदेखि दुःख गर्न सिकेका थिए । आज त्यही सिकाइले उनलाई अझ अघि बढ्न मद्दत गरिरहेको छ । सिंगापुर पुलिसबाट आएको तलबले उनको परिवारलाई प्रशस्तै पुग्छ। राजधानीमै सुखका साथ बस्न पुग्छ। यद्यपि अहिले दौडमार्फत पनि उनी प्रशस्तै कमाइ गरिरहेका छन् । उनी कुनै समय साताकै दुई प्रतियोगितामा सहभागी हुन्छन् । तिनमा उनी पहिलो नै बन्छन् । उपाधि सम्भव नभए पनि उनी शीर्ष तीनमा त पर्छन् नै।

ती प्रतिस्पर्धाबाट उनी मासिक औसतमा दुईदेखि तीन लाख नेपाली रुपैयाँ कमाइ गर्दा रहेछन् । कुनै बेला त्योभन्दा बढी पनि कमाइ हुने उनले बताए । ‘राम्रो दौडनसक्ने धावकलाई सिंगापुरमा राम्रो छ । यहाँ नियमित प्रतियोगिता भइरहेका हुन्छन् । सानै प्रतियोगिताको पनि पुरस्कार राशि धेरै हुन्छ’, निमेश भन्छन्, ‘राम्रो प्रदर्शन गर्नसके कमाइ पनि राम्रो हुन्छ । पहिलेको दुःखको दिन सम्झेर पनि मेहनत गर्न मन लाग्छ।’

सिंगापुर पुगेपछि मात्र आफूले एथलेटिक्सका बारेमा जानकारी पाएको निमेशले बताए । उनले सिंगापुरको जागिर अवधि सकिएपछि आफ्नै देशमा केही योगदान गर्ने योजनामा रहेको बताए । निमेश भन्छन्, ‘मैले अहिले जति पनि प्रतियोगितामा सहभागिता जनाएको छु, त्यसमा मेरो नाम नेपालसँगै जोडिएको छ । साँच्चिकै नेपालबाटै आएर दौडन पाएको भए कस्तो हुन्थ्यो भनेर सोच्छु । आफ्नो देशबाट खेल्ने अवसर नपाए पनि यहाँबाट बिदा भएपछि प्रशिक्षककै हैसियतमा भए पनि नेपाली खेलकुदलाई योगदान पु¥याउने योजनामा छु।’

निमेशको प्रदर्शन
२०१४ : माउन्ट किनाबलु इन्टरनेसनल रनिङ मलेसिया (दोस्रो)
२०१४ : द स्ट्रेट्स टाइम्स रन सिंगापुर (२१.१ किलोमिटर, दोस्रो)
सिंगापुर होम टाइम ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप
१० हजार मिटर : (२०१४, पहिलो, २०१६, पहिलो)
पाँच हजार मिटर : (२०१४, पहिलो, २०१६, पहिलो)

१५ सय मिटर : (२०१४, पहिलो)
२०१४ : द स्ट्यान्डर्ड चार्टर्ड हाफ म्याराथन (पाँचौं स्थान)
सफ्र आर्मी हाफ म्याराथन
२०१४ : दोस्रो
२०१५ : दोस्रो
२०१६ : दोस्रो
२०१६ : सिंगापुर न्यु ब्लान्स रन (सात किलोमिटर, पहिलो)

२०१६ : पुमा नाइट रन (१२ किलोमिटर, पहिलो)
२०१६ : क्रस कन्ट्री (५० किलोमिटर, दोस्रो)
२०१६ : पोकारी स्विट रन (१० किलोमिटर, पहिलो)
२०१६ : सालोमोन एक्स क्रस कन्ट्री (१० किलोमिटर, पहिलो)

२०१६ : द पर्फमेन्स सिरिज (१० किलोमिटर, पहिलो)
२०१६ : सिंगापुर सिटी रेस (४२ किलोमिटर, पहिलो)
२०१७ : द स्ट्रेट्स टाइम्समा रेस (१९ किलोमिटर, दोस्रो)
२०१७ : विश्व पुलिस फायर गेम्स अमेरिका (१० किलोमिटर, पहिलो, २१ किलोमिटर पहिलो)

अन्नपुर्णपोस्टबाट

२० भदौ २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo