प्रधानमन्त्री देउवासंग प्रचण्को बढ्दो असन्तुष्टि

कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

प्रदेश २मा स्थानीय तहको चुनावी प्रचार अभियानमा रहेका दाहालले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै कोसी उच्चबाँधको विषय बिनाअध्ययन सहमति जनाउन उचित नहुने बताए । उनले भने, ‘कोसी हाइड्याम नेपालीको हितमा छ, छैन, त्यसबारे विस्तृत अध्ययनपछि मात्रै सरकारले कदम अगाडि बढाउँदा उचित हुन्छ ।’

मंगलबार चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा क्षेत्रमा भारतले बनाएको अग्लाअग्ला बाँधका कारण तराईको भूभाग डुबानमा परेको भन्दै कोसी उच्चबाँध निर्माण गरी डुबान समस्या अन्त गर्ने भारतसँग सहमति भएको बताएका थिए ।

माओवादी अध्यक्ष दाहालले कुनै क्षेत्रीय पार्टीबाट मधेसको विकास सम्भव नहुने भन्दै मधेसको पहिचान माओवादीको ‘जनयुद्ध’बाट स्थापित भएको मुद्दा भएको बताए । यो वर्ष नेपाल र नेपालीको चुनावी वर्ष भएको उल्लेख गर्दै उनले मधेसमा माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको दाबी गरे ।

ऐतिहासिक नगरी सप्तरी सदरमुकाम राजविराजको हालत अहिले निकै दयनीय र नाजुक भएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राजविराजको विकासका लागि प्याकेजमै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कान्तिपुरबाट

प्रकाशित मिति २०७४ भदौ २८ , बुधबार

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo