काम जान्ने नोकर, कुरा जान्ने देवता : ज्या सःम्ह च्यः, खँ सःम्ह द्यः !

व्यक्ति जतिसुकै फैलिए पनि आफ्नो गाउँठाउँ बिर्सन नहुने जीवनदर्शन बोक्ने पुरातत्वविद् शुक्रसागर श्रेष्ठको मनमा कीर्तिपुरप्रति असीम श्रद्धा थियो ।

त्यही कीर्तिपुर, जहाँको वातावरणमा मैले शुक्रसागरप्रति अत्यन्तै नकारात्मक प्रारम्भिक धारणा बनाएको थिएँ । म उनको घर रहेको कुटुझोलभन्दा पाँच मिनेट वरको खासीबजारमा हुर्किएँ । मेरो समाजले उनलाई साह्रै घमण्डी भनेर बुझेको थियो ।

पुरातत्व विभागमा कार्यरत उनी सांस्कृतिक इतिहासका पनि विद्वान् हुन् भनेर हामीलाई थाहा थियो । हामी उनले बाटो वा मन्दिर क्षेत्रमा आफलिएका शिलालेखहरु पानीले पखाल्दै तिनको उतार लिएको देख्थ्यौं र नदेखेझैं गथ्र्यौं ।

बेलाबखतका लेखहरुबाट उनको ज्ञानको गहिराइ आकलन गरिन्थ्यो, तर बोलचाल भने भरसक नगरौं नै भन्ने लाग्थ्यो । पुरातत्व विभाग जाँदा पनि उनीसँग तर्किएरै काम चलाइन्थ्यो ।

म कीर्तिपुरका अर्का व्यक्तित्व भिक्षु सुदर्शन महास्थविरकहाँ भने गइरहन्थें । उहाँ सधैं शुक्रसागरको प्रशंसा गर्नुहुन्थ्यो र मैले पनि उनीसँग हेलमेल गरे हुन्थ्यो भन्नुहुन्थ्यो । त्यहीबीचमा उनको कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास आयो ।

त्यो किताबलाई लिएर सुदर्शन भन्ते निकै उत्साहित हुनुहुन्थ्यो । उहाँले किताबलाई लिएर लेखकको प्रवचन कार्यक्रम राख्ने विचार गर्नुभयो र मलाई निमन्त्रणा सूची बनाउन लगाउनुभयो ।

भन्तेकै कारण मैले शुक्रसागरको प्रवचन पनि सुनें, जसले बाल्यकालदेखि मेरो मनमा ठडिएका पूर्वाग्रहका पर्खालहरु गल्र्यामगुर्लुम ढालिदियो ।

उनको सरलता र ज्ञानको गहिराइसँगको साक्षात्कारले मलाई स्तब्ध र अपराधबोध गराएको थियो । प्रवचनलगत्तै विनम्रताका साथ मैले आफू उनकै छिमेकी टोलको विद्यार्थी भएको परिचय दिएँ । त्यसको केही दिनपछि उनीसँग कुरा गर्नकै लागि पुरातत्व विभाग पुगें ।

त्यसपछि त उनैले पनि फोन गरेर मलाई बोलाउन थाले । हरेक भेट र छलफलमा इतिहास, संस्कृति, पुरातत्व सम्बन्धी स्थापित मान्यताभन्दा फरक उनको तर्क–मान्यता सुनेर चकित हुन्थें ।

हिमाल पाक्षिकमा मेरो लेख (राज्यको वक्रदृष्टिमा कीर्तिपुर, १६–३१ वैशाख २०६१) छापिंदा शुक्रसागर नवलपरासीको रामग्राम स्तूप उत्खनन्मा थिए । त्यो पढेर उनले फोनमा ‘कीर्तिपुरलाई बेग्लै ढंगले चिनाउने काम तिमीले गर्‍यौ’ भन्दै मलाई पुलकित–प्रेरित गरे ।

२०५८ सालमा सुदर्शन भन्तेको निधनपछि कीर्तिपुरमा मेरा गुरु शुक्रसागर नै भए । उनीबाट कहिलेकाहीं भन्तेबाट जस्तै खप्की पनि पाइन्थ्यो । उनी कुनै पनि किसिमको तामझाम र प्रचारप्रति परहेज राख्थे । गम्भीर काम, तिखो टिप्पणी उनको विशेषता थियो ।

त्यसैले मान्छेहरु उनलाई घमण्डी भन्थे । उनको जीवनशैली भने अति साधारण र मन अत्यन्तै कोमल थियो । उनी बेला–बेला भनिरहन्थे, “ज्या सःम्ह च्यः, खँ सःम्ह द्यः (काम जान्ने नोकर, कुरा जान्ने देवता) ।” उनको जीवनमा यो नेवारी उखान चरितार्थ भएको थियो ।

आफ्नो पदोन्नति सबैलाई मन पर्छ । शुक्रसागरको पनि पुरातत्व विभागको महानिर्देशक हुने पालो आएको थियो । धेरैलाई चासो भयो– काम जान्ने, लप्पनछप्पन नजान्ने यस्ताले विभाग कसरी चलाउला ? तर, उनले त्यो पद होइन, अवकाश रोजे अनि धेरैको गाली पनि खाए ।

खासमा उनले विभागमा महानिर्देशकको तिगडम गर्न नसक्ने भएकैले राजीनामा गरे । काम भने अवकाशपछि पनि धेरै गरे । समयसीमाभित्रै काम सकेर पेश्की फछ्र्र्योट गर्न जाँदाको दुःख पनि धेरै बेहोरे ।

कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास (२०५७) शुक्रसागरको मास्टरपिस हो । त्यसबाहेक, स्वदेशी–विदेशी विद्वान्हरुसँगको संयुक्त लेखनमा उनका आधा दर्जन अंग्रेजी पुस्तक र अनगिन्ती फुटकर आलेखहरु प्रकाशित छन् ।

पुरातत्व विभागमा रहँदा उनले मुस्ताङ, लुम्बिनी र नवलपरासीमा गरेको कामलाई नेपाली पुरातत्वको क्षेत्रमा स्मरणीय मानिन्छ । नवलपरासीको रामग्राम र पण्डितपुरको उत्खनन् उनकै नेतृत्वमा भएको थियो ।

खासमा शुक्रसागरलाई सोझो, घमण्डी भन्दाभन्दै नेपाली समाजले उनीबाट लिन सकिनेजति काम लिन सकेन । एकल लेखनका एक दर्जनजति पाण्डुलिपि छाडेर गएका उनी संयुक्त अनुसन्धान र लेखनमा पनि सक्रिय थिए । अब उनको त्यो विशाल ज्ञानसागरलाई कसरी एकीकृत गर्ने ? समस्या भएको छ ।

हिमालखबर/बसन्त महर्जन

 

प्रकाशित मिति २०७४ असोज ९ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu