गज्जब गगन थापा : संसदबाट पारित भयो गगनले अघि बढाएको स्वास्थ्य बीमा विधेयक

काठमाडौं । सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्थासहितको स्वास्थ्य बीमा विधेयक २०७४ संसदबाट पारित भएको छ ।

तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गराएको विधेयक मंगलबार पारित भएको हो ।

एमालेको अवरोधका कारण तत्कालिन मन्त्री थापाले संसदमा पेस गर्न नपाएको विधेयक केही हप्ता अगाडी स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले पेस गरेका थिए ।

संसदले पास गरेको ऐन राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउनेछ । ‘स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ लाई अन्तिम रुप दिन तत्कालिन मन्त्री थापाले प्रयास गरेका थिए ।पुर्वमन्त्री थापाले आफुले सबैभन्दा धेरै प्राथमिकतामा राखेको विषय भएकाले बीमा ऐन पारित भएकोमा ठुलो आत्मसन्तुष्टी भएको बताए ।

उनले यो ऐन कार्यान्वयनमा आएपछि आर्थिक अभावकै कारण कसैले स्वास्थ्य सेवाबाट बन्चित हुन नपर्ने बताए ।

आयका आधारमा प्रिमियरको योगदान गर्ने र तिर्न नसक्नेको सरकारले तिरिदिने व्यवस्था भएकाले स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुग्ने उनको भनाई छ ।तर ऐन बनाएर मात्रै नहुने भएकाले ऐनको कार्यान्वयन अवको चुनौतीको सांसद थापाले बताए ।

विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । यस्तै वृद्धाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

प्रकाशित मिति :२०७४ असोज २४,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu