फोरजी विस्तारमा ३२ अर्ब लगानी गर्दै टेलिकम, टेन्डरमा चिनियाँ कम्पनीको बर्चश्व

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा विस्तार गर्न ३२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। एक वर्ष अगाडि अनुमति पाएर काठमाडौं र पोखराबाट सुरू गरेको सरकारी स्वामित्वको टेलिकमले देशभर एकैपटक फोरजी सेवा पुर्याउने जानकारी दिएको छ।

सेवा विस्तारको लागि टेलिकमले नेटवर्क, विटिएस र टावर थप गर्न उक्त लगानी गर्ने भएको कार्यकारी निर्देशक कामिनीराज भण्डारीले जानकारी दिइन्।

यसको लागि विश्वव्यापीरूपमा आव्हान गरिएको टेन्डरमा भने चिनियाँ कम्पनीहरूकै बाहुल्यता रहेको छ। ३२ अर्बको अनुमानित लागत भएपनि टेन्डरबाट भने उक्त आयोजनाको लागि १७ अर्ब बराबरको मात्र प्रस्ताव भएको छ।

तर यो लागतमा निर्माणपछिको मर्मतसम्भारजस्ता काममा करीब १० वर्षसम्म जाने राजभण्डारीले जानकारी दिइन्।

एलटीइ कोर नेटवर्क र र्याम,विटिएस गरी दुई भागमा बाँडेर टेन्डर आव्हान भएको थियो। सोमबार र बुधबार खोलिएका उक्त टेन्डरमा चिनियाँ कम्पनीहरूले इच्छा देखाएका छन्।

एलटिई(लङ टर्म इभोलोसन) कोर नेटवर्क विस्तार आयोजनाको लागि आव्हान गरिएको टेन्डरमा चिनियाँ कम्पनी हुवावे, जेटई र सिंगापुरको मभिनिरको प्रस्ताव परेको छ।

सोमबार खोलिएको उक्त प्रस्तावमा हुवावेले १ अर्ब(३८ अर्ब बैकल्पीक), जेटईले १अर्ब हे५३ करोड र मभिनिरले २ अर्बको प्रस्ताव गरेका छन्।
यो नेटवर्क विस्तारपछि हाल थ्रीजी,टुजीको नेटवर्क रहेको ठाउँमै फोरजीको नेटवर्क पनि रहने छ।

त्यस्तै नेटवर्कतर्फको आयोजनामा भने चिनियाँ कम्पनीमात्र रहेका छन्। हुवावे र जेटईकोमात्र प्रतिस्पर्धा रहेको यो आयोजनामा जेटई र चाइना कम्युनिकेशन सर्भिस इन्टरनेशनल (सिसिएसआइ)ले भाग लिएका छन्।

दुई प्याकेजमा आव्हान गरिएको यो टेन्डरमा मध्यामाञ्चल र मध्यपश्चिमाञ्च क्षेत्रको आयोजनामा सिसिएसआइले ८ अर्ब ४७ करोडमा काम गर्ने प्रस्ताव गरेको छ भने जेटईले ९ अर्ब ९८ करोड रुपैयाँको प्रस्ताव गरेको छ।

पूर्वाञ्चल, पश्चिमाञ्चल र सूदुरपश्चिमाञ्चलको लागि सिसिएसआइले ८ अर्ब २२ करोड जेटईले ८ अर्ब ८९ करोड प्रस्ताव गरेको छ।
यी आयोजनामा कूल ६ हजारभन्दा बढी टावर निर्माण हुनेछन् भने त्यत्तिकै संख्यामा विटिएस पनि थपिनेछन्।

टेलिकमले भर्खर टेन्डर खोलेकोले प्रविधिक तथा वित्तीय प्रस्तावको अध्ययनपछि सम्झौताको प्रक्रिया अगाडि बढाउने छ। सम्झौता भएपछि नेटवर्क विस्तारको काम ९ महिनभित्र सम्पन्न गर्ने टेलिकमको लक्ष्य छ।

टेन्डरको अध्ययन तथा सम्झौता प्रक्रिया अगाडि बढाउनको लागि फोकस समूह नै बनाइएको र छिट्टै सम्पन्न हुने कार्यकारी निर्देशक राजभण्डारीले जानकारी दिइन्।

देशभर एकैपटक एलटिई नेटवर्क विस्तार गरी सातैप्रदेशका सबैठाउँमा फोरजी सेवा विस्तार हुने उनको भनाइ छ।

योपछि टेलिकमले भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भोओएलटी) सेवा ल्याउने योजनामा छ। नेटवर्क विस्तारपछि सातै प्रदेशमा यो सुविधा उपभोक्ताले पाउनेछन्। नयाँ प्रविधिमा गएपछि उपभोक्ताहरूले फोनगर्दा अहिलेकोभन्दा कम अवरोध पाउने टेलिकमले जनाएको छ।

हाल प्रचलनमा रहेको वाइम्याक्स, सिडिएमएजस्ता प्रविधिको ठाउँमा उच्च गुणस्तरीय एलटीई नेटवर्कमा आम उपभोक्तालाई जोड्ने योजनाअनुरुप आयोजना अगाडि बढाइएको राजभण्डारीले जानकारी दिइन्।

‘यो जसरी हामीले लगानी गरेका छौं यसबाट देशभर एकैपटक फोरजीमात्र होइन त्यसबाट पछि फाइभजी पनि जान्छ,’ उनले भनिन्,‘देशका कुनाकाप्चा सबैतिर द्रुतगतिको मोबाइल डाटा तथा गुणस्तरीय भ्वाइस सेवा हामी दिनेछौं।’

यो आयोजना सम्पन्न भएसँगै देशभर एलटीइ नेटवर्क पुग्ने र त्यसपछि आउने फाइभजीजस्ता सेवा पनि त्यही नेटवर्कबाट अपग्रेड गर्न मिल्नेछ।-सेतोपाटीबाट

प्रकाशित मिति : २०७४ पुष २७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu