विवेकशील साझा पार्टीका प्रदेश सभा सदस्य श्रेष्ठ भन्छन् -प्रतिपक्षमा रहेर जनताको कुरा राख्छौं

निर्वाचन आयोगमा प्रदेश सभा सांसद निर्वाचित महोत्तरीका जानकीशरण साह शुक्रबार हर्षित देखिन्थे।

प्रमुख आयुक्तबाट प्रमाणपत्र बुझेपछि उनले अरु नेतासँगै फोटो खिचाए। लामो र सेतै फुलेको दारी अनि सेतै कुर्ता सुरुवाल र गम्छामा उनको अनुहार चम्कलो थियो।

उनको पार्टीले समानुपातिकको सूची आयोगमा बुझाउँदा बन्द सूचीको क्रम मिचिदिएको थियो। तर अन्तिममा आयोगको दबाबले पार्टी पछि हट्यो। उनी राजपाको तर्फबाट प्रदेश सभा सदस्य भए।

समानुपातिक तर्फका सदस्यहरुले प्रमाणपत्र बुझेसँगै प्रदेश सभाले पूर्णता पाएको छ। साहको प्रदेश २ को राजधानी जनकपुर तोकिएको छ। उत्साहित साह जनकपुर जाने तयारीमा छन्।

‘अब जनकपुर जाने हो, सपथ लिने हो’, साहले  भने।

उनी प्रदेश सभा सदस्यको हैसियतले विकासको पहल लिन चाहन्छन्।

‘राजनीतिक विषय प्रतिनिधि सभाको हो, हाम्रो प्राथमकिता विकास हो’, साहले भने। साह जस्तै प्रदेश २ कै सिराहाकी फुलया देवी देवी दाय पनि निर्वाचन आयोगमा प्रमाणपत्र बुझ्न आएकी थिइन्।

माओवादी केन्द्रले उनलाई सहिद पत्नीको हैसियतमा प्रदेश सभाको सदस्य बनाएको हो।

‘तपाईं कहाँबाट आउनु भएको’ भन्ने प्रश्नमा उनले सिरहा भन्ने छोटो जवाफ फर्काइन्। तर अरू प्रश्नमा जवाफ दिनुको साटो बरु दाँयाबायाँ हेरिन्। सँगै रहेका माओवादी कार्यकर्ताले सदायले नेपाली बोल्न नसक्ने जवाफ दिए। सदायसँग मोबाइल छ तर उनलाई नम्बर थाहा छैन। उनी मुसहर समुदायबाट प्रदेश सदस्य बनेकी हुन्।

प्रदेश ३ मा विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्य बनेका विराजभक्त श्रेष्ठलाई भने अबको आफ्नो कार्यभारबारे राम्रो जानकारी छ।‘प्रदेशको नयाँ अभ्यास हो। हामी जन उत्तरदायी प्रदेश बनाउने हो’, विराजले भने, ‘प्रतिपक्षमा रहेर जनताको कुरा राख्छौं।’

प्रदेश सभा सांसद निर्वाचित केहीलाई कार्यकर्ताले खादाले पुरिदिए। केहीलाई आफन्तले दुवोको मालाले सजाइदिए। दुबोको मालाले सजिएकी रजनी अमात्य भक्तपुरकबाट प्रदेश सभा सदस्य बनेकी हुन्। उनले कांग्रेसकै ललितपुरकी विजया श्रेष्ठसँग फोटो खिचाइन्। विजयाका श्रीमानलाई द्वन्द्वकालमा हत्या भएको थियो। उनीहरू अब प्रदेश सभाको सपथका लागि हेटौंडा जानुपर्नेछ।

दुबैलाई हेटौंडा प्रदेश राजधानी भएको चित्त बुझेको छैन।

‘हेटौंडा चित्त बुझेको छैन, यो अस्थायी हो परिवर्तन गर्नुपर्छ’, विजयाले भनिन्। तर अमात्य तत्काल रक्षात्मक बनिन्। ‘चित्त नबुझे पनि पनि हाम्रो पार्टीले राजधानी तोकेकाले आन्दोलन गर्न मिलेन। हाम्रो विरोधचाहिँ हो।’

राप्रपा प्रजातान्त्रिककी रिनु गुरुङ पनि प्रदेश सभा सदस्य बनेकी छिन्। उनी प्रदेश ३ मा पार्टीकी एक्ली सदस्य हुन्। उनी पार्टीको चितवन जिल्ला सदस्य थिइन्। भारतबाट एमबिए गरेकी उनी पहिलो कार्यकाल प्रदेशलाई संस्थागत गर्दैमा जाने देख्छिन्।

प्रकाशित मिति : २०७४ माघ ६,शनिवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu