सरकार ! मैले पनि एक छाक भात खुवाउन पाऊँ !

-सरगम भट्टराई 

म त भोक मेट्न असिना टिप्छु सरकार
मसिनो मिठो कहाँ पाउनु र ?
भए खान्छु
नभए सन्तोष मान्छु
मलाई पसिना बिनाको मिठो मसिनो चाहिन्न
म स्वाभिमानी छु
त्यसैले म भोकमा पनि बाँच्न सक्छु
शोकमा पनि हाँस्न सक्छु
मलाई केहि लिनु छैन
त्यसैले तपाईहरुको सेवामा
म मेरो ईमानको पसिना चुहाउन पाऊँ
सरकार ! मैले पनि एक छाक भात खुवाउन पाऊँ !

 

म संग काँसका टल्ल टल्किने थाल छैनन्
चाँदीका चम्चा पनि त छैनन्
कहिलेकाहिँ मेरो चुल्हो बल्न नपाएर ग्वाँ ग्वाँ रुन्छ
मेरा थालहरु रित्तो भएर र्याईँ र्याईँ बज्छन्
हो, मेरा भकारीहरु रित्तो छन्
मेरा पसिना बेचेर म मसिनो खान सक्दिन
मलाई गरि खाने देश दिईयोस्
म अझै मेहनत गर्छु
मोटो बेचेर मसिनो किनेको छु मेरो सरकारका लागि
माटो मथेर नौनी निकालेको छु मेरो सरकारका लागि
किनकी मलाई सरकारलाई खुवाउने मन छ
त्यसैले, यहाँको पाउमा माथ छुवाउन पाऊँ
सरकार ! म पनि एक छाक भात खुवाउन पाऊँ

सरकार ! मेरो पनि एउटा मन छ
अभावमा यता उता हेर्छ तर चोरेको छैन
दु:खमा, अन्यायमा रुन्छ तर मरेको पनि छैन
यसले तपाईबाट केहि माग्दैन
केवल गरि खान मिल्ने देश माग्छ
यसका अपेक्षा म बबुरो जस्तै साना छन्
मलाई कलेज खोल्नु छैन
मलाई कुनै ठेक्का पट्टा पाउनु छैन
मेरो औक़ात कुनै उद्योग खोल्ने छैन
तर पनि म चाहन्छु
मेरो चिसो चुल्हो तपाईहरुका लागि धुँवाउन पाऊँ
सरकार ! म पनि एक छाक भात खुवाउन पाऊँ !

प्रकाशित मिति : २०७४ फागुन ७,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu