बरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको नयाँ कृति ”ऋतु फेरिंदै जान्छ” प्रकाशित

नेपाली साहित्यमा बिगत चार दशकदेखि सक्रिय बरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको नवौं कृतिको रुपमा २५ वटा कथाहरुको संकलन ऋतु फेरिंदै जान्छ प्रकाशित भएको छ। रत्न पुस्तक भण्डारबाट प्रकाशित यस कथा संग्रहमा इन्द्रकुमार श्रेष्ठ सरितका धेरैजसो २०६१(६१ पछी लेखिएका कथाहरु संग्रहित छन्।

इन्द्रकुमार श्रेष्ठ सरितले धेरैजसो कथाहरु लेखे तापनि उनी कविता, गीत, गज़ल, उपन्यास,समिक्षा,संस्मरण आद्किलो लेखनमा पनि सक्रिय रहेका छन्. यस अघि नै उनका कथा संग्रह, कविता संग्रह,उपन्यास, अन्तर्वार्ताको संगालो प्रकाशित भैसकेका छन्। उनले आधा दर्जन भन्दा बढी साहित्यिक पत्रिकाको सम्पादन पनि गरिसकेका छन्।

कथाकार सरितका पूर्व प्रकाशित कथाहरुको तुलनामा बिल्कुलै पृथक कथाहरु यस संकलनमा संग्रहित छन्। यस अघिका सरितका कथाहरु सामाजिक यथार्थवादी हुने गरेकामा ऋतु फेरिंदै जान्छ मा संग्रहित कथाहरु प्रगतिवादी विचारका दृष्टिले स्पष्ट छन् र अधिकांस कथाहरु समाजबादी यथार्थवादी छन्।

विशेषतस् कथाहरुको पृष्ठभूमि जनयुद्ध र जनान्दोलन रहेको छ। करिब १० बर्षको क्यानभासमा फैलिएका कथाहरुको अध्ययनले हामीलाई फेरी एकपटक तत्कालीन समयमा पुर्याउँछ। अन्याय र अत्याचारको बिरुद्धमा उठेका मुठ्ठीहरु, न्याय प्राप्तिका लागि भएका जीवनका उत्सर्गहरु,सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि भएका अथक संघर्ष, बलिदानका गाथाहरु संगै त्यो बेलाको डर र त्रासहरु संग सरितका कथाहरु मार्फत फेरी एकचोटी जम्काभेट हुन्छ।

कतै विद्रोहको ज्वाला भेटिन्छ, कतै आशाको समुद्र भेटिन्छ त कथा पड्दै जाँदा कतै पीडा र रोदनको मर्मस्पर्शी मोडहरु पनि भेटिन्छन। कथानक तत्व,चरित्र चित्रण, माझिएको भाषा,मनोहारी शैलीले सरितका कथाहरु समसामयिक,हृदयस्पर्शी,मार्मिक र समयका दस्तावेज बनेका छन्।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ , मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu