जन्मदै २ हात र १ खुट्टा नभएका पासवानले कोरेको चित्रहरु हेर्दा उनको हात छैन भनेर कस्ले पत्याउने?

सपना देख्न छाड्दैनन् आनन्दकुमार , सिन्काले कोरेर सिकेको चित्रकला जीविका धान्ने आधार
उनको खुट्ट थिएन, त्यसैले टाढा जाने डर उनीहरुलाई थिएन, सडकपेटीमा छाडिदिन्थे । हात थिएनन् खेल्ने सामान दिने कुरा भएन । तर, पनि उनी छोटा ठुटा जस्ता आफ्नो दुई हातले सिन्को समाएर भुई कोतार्थे । शायद यही उनको चित्रकलाप्रतिको प्यासन थियो ।

दुवै हात र एउटा खुट्टा नभएको मान्छेको जीवन कस्तो होला?

हाम्रो दिमागमा एउटै कुरा आउँछ, आर्थिक रुपमा सवल परिवारको होइन भने सडकको कुनामा बसेर माग्नुको विकल्प छैन।

हो, यस्तै छ, २१ बर्षीय युवा आनन्दकुमार पासवानको पनि अवस्था। उनका दुवै हात छैनन्, दायाँ खुट्टा पनि छैन। उनी राजधानीको सडक पेटीमै बसेर माग्छन्, तर उनीसंग अरुसंग हात फैलाएर माग्न हात नै छैन। उनी आफ्नो कला देखाउँछन्, जति दियो त्यतिमा चित्त बुजाउँछन्।

उनले आफ्नो जीवनलाई कला, जोस, जाँगर र मेहनतको संगम बनाएका छन्। पासवानको जन्मदै दुवै हात र एउटा खुट्टा थिएनन्। तर, पनि उनले कोरेको चित्रहरु हेर्ने हो भने उनको हात छैन भनेर कस्ले पत्याउने? तर, ति तस्बिर बनाउँदाको सास्ती उनी आफै मात्र अनुभूत गर्न सक्छन्, देख्नेहरुले बुझ्न गाह्रो छ।

कहिले रत्नपार्क, कहिले बसन्तपुर त कहिले पशुपतिका सडक पेटिमा भेटिने पासवान एकोहोरो चित्र कोरिरहेका हुन्छन्। उनको चित्र किन्न पाइन्छ। तर, धेरैले चित्र कोरेको हेर्छन् र पाँच/दश रुपैयाँ दिएर जान्छन्। कतिले चित्र किन्छन् पनि। चित्र कोर्नु उनको रहर हो, त्यो भन्दा पनि अव बाध्यता बनेको छ। चित्र कोरेर आएको कमाइले आफु र आमाको जीविका धानेका छन्।

जीवन एक पाठशाला – रहर अनेक छन्, सपना एउटा

विहान ५/६ बजे नै उठ्छन्। चिया पिउँछन्। दाँत माझ्छन्। उनी आफैले कोरेका देवीदेवताका चित्र भित्तामा टाँसेका छन्, त्यसैमा पुजा गर्छन्। १० बजेतिर खाना खाएर चित्र कोर्न सडकपेटीतिर लाग्छन्। दिनभर त्यही बित्छ। बेलुकी पख पुन: डेरा फर्कन्छन्। खाना खाएर एकछिन गीत सुन्छन् र गाउँछन् पनि। त्यसपछि दिनभरको थकाइ मेट्न सुत्छन्। यसरी चल्ने उनको दैनिकी कहिलेकाही साथीहरुसंग गेटट्गेदरमा पनि बित्छ। उनी आपांग छन्, सडकका पेटीमा चित्र कोर्छन्, साथीहरु भने सडकका होइनन्, सर्वोच्च अदालतमा काम गर्नेदेखि कलेज पढ्ने विद्यार्थीहरु छन्।

बिशेषगरी चित्रकला हेर्न अभिभावक तथा शिक्षकहरु आफ्ना साना नानी र विद्यार्थी लिएरसमेत आउँछन्। ‘साना नानीहरुलाई देखाउँदै हेर, उसको हातखुट्टा नभएर के भयो? कति राम्रो चित्र कोर्छन्, तिमीहरु अल्छि गर्छौ, उसबाट प्रेरणा लिन सिक भनेर सम्झाइरहेका हुन्छन्,’ यस्तो बेलामा पासवानको खुशीको सिमा रहँदैन, आफ्नो अस्तित्व वोधले उनी आफैप्रति गर्व गर्छन्।

‘सफलता पाउन सजिलो छैन नी, मेहनत, लगाव, निरन्तरता र आत्मबल हुनुपर्छ, यहि नै हो जीवन र संघर्ष,’ उनी भन्छन्। उनकै शब्दमा आफ्नो शारीरिक अवस्थाप्रति उनी कहिल्यै बिचलित भएनन्। यसैमा रमाएका छन् पनि।

उनी कल्पना गर्छन्, आफ्नै ‘आर्ट सेन्टर’ को। उनी आफ्नो सपना सुनाउँछन्, ‘सधै सडकमै जीवन बिताउन नपरोस्, समाजमा उदाहरणीय बनेर देखाउन सकुँ। आफ्नै आर्ट सेन्टर खोलेर अरुलाई पनि सिकाउन सकुँ।’ कान्तिपुरबाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu