एउटा गरीब परिवारको बहुमूल्य रत्न

-मणी भट्टराई

एउटा गरीब तर सुन्दर र शान्त परिवार थियो । धेरै लामो समयदेखि त्यो परिवारमा एउटा बहुमूल्य रत्न थियो । यति धेरै बहुमूल्य कि त्यो ऊनिहरूले आफै बेच्न सक्नु हो भने उनिहरू पनि सबैभन्दा धनी मध्येमा हुनेथिए । तर दुर्भाग्यवश त्यो क्षमता उनिहरूमा थिएन । यसैले ऊनिहरू अझै गरीब नै थिए ।

एकदिन उनिहरूले त्यो रत्न बेच्नको निम्ति गाउँका धनीमानी र पढेलेखेका टाठाबाठा वा भनौ शक्तिशालीहरूको सहारा माग्न पुगे। यो सँगसँगै घर भित्र झगडा सुरू भयो । कसैले गुमानसिंह साहुसँग सम्झौता गरौं र बेचौं भने त कसैले हर्कजुंग साहुसँग । यसै विवादमा परिवार संग्राममा परिणत भयो । घर भित्रै हात हालाहाल सुरू भयो ।

यो हल्ला गुमानसिंहले पनि चाल पायो र हर्कजुंगले पनि सुन्यो । त्यसपछि उनिहरू दुबै दलबल सहित त्यो घरमा गए र त्यो घरका आआफ्ना पक्षका सदस्यहरूलाई साथमा लिएर त्यो घर भित्र महासंग्राम मच्चाए । त्यो गरीब परिवार भित्र दुई सम्पन्नहरूको कुरुक्षेत्र सुरू भयो । त्यो भयानक संग्राममा त्यो घर भित्रका बालबालिकाहरू सबै मारिए । बुढापाकाहरू पनि मारिए । नौजवानहरू पनि मारिए । अन्तत: त्यो घर पुरै चिहान भयो ।

त्यसपछि गुमानसिंह र हर्कजुंगले एक आपसमा हेराहेर गरे, र मुस्कुराए । लामो सास ताने । अब रत्न हाम्रो भयो, झगडा नगरौं -बाँडेर लैजाऊँ भन्ने सल्लाह गरे । ऊनिहरूले एकसाथ मिलेर त्यो गरीब तर सुन्दर परिवारको चिहान खोतले, र कंकालहरूको बीचबाट बहुमूल्य रत्न झिकेर आधा-आधा बाँडे ।

प्रकाशित मिति: २०७४ फाल्गुन १४ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu