८ वर्षपछि परिवार भेट्दाको आँसु : सँगै साउदी उडेका बाबुछोरी ८ वर्षपछि नेपालमै भेटिए (भिडियो)

-डिल्ली पाण्डे

हस्तबहादुर परियारका व्यग्र आँखा एयरपोर्टको आगमन द्वारतिर फिँजारिएका थिए।

बिहीबार, बिहान साढे ९ बजेको समय।

विभिन्न देशको जाडो–गर्मी सहेर न्यानो काठमाडौंमा ओर्लेकाहरू सुटकेस गुडाउँदै बाहिर निस्के। तिनका अनुहारमा खुसी नाचिरहेको थियो।

उस्तै डिजाइनका दुई सुटकेस राखेर ट्रली गुडाउँदै आएकी शान्ता परियार भने न हाँस्न सकिरहेकी थिइन्, न रून। बाक्लो सेतो टिसर्ट लगाएकी उनको अनुहारको रङ फुंग उडेको थियो।

आगमन द्वारबाट बाहिर निस्किन्। सडकछेउ उभिएका बाबु हस्तबहादुर, आमा र बहिनीहरूलाई देखेर फिस्स हाँसिन्। उनका मसिना दाँत झुलुक्क देखिए।

एकछिन कता जाने भनेर अल्मलिइन्। ट्रलीका पाङ्ग्रा दाहिनेतिर मोड्दै घुमेर सडकमा निस्किइन्।

प्रहरीको घेराबाट बाहिर निस्कनेबित्तिकै रातो टिसर्ट लगाएकी बहिनी छोप्न पुगिहालिन्। उनी रोइरहेकी थिइन्। बहिनीको हाल देखेर शान्तालाई पनि सम्हालिन मुश्किल भइरहेको थियो।

दुवैले एकअर्कालाई गम्लङ्ग अंगालो मारे। लगभग दुई मिनेटसम्मै उनीहरू छुट्टिएनन्।

बहिनीपछि बाबुलाई अंगालिन्। सुरुमा दुवै हातले बाबुका दुवै काँध बेरिन्। त्यसपछि पेटबाट दुवै हात ढाडसम्म पुर्याएर आफ्नो शिर बाबुको छातीमा राखिन्।

बाबुछोरी एकछिनसम्मै स्थिर रहे, यही मुद्रामा।

आमा आइन्। आमालाई पनि उसैगरी अँगालो मारिन्।

परिवारका सबै रोइरहेका थिए। शान्ताको पीडा भने छातीभित्र कतै जमेको थियो। उनका छट्पटिएका आँखा रसाएका थिए, बगेका थिएनन्।

मान्छे दुःखमा रुन्छ। धेरै दुःखमा भने आँशु पनि सुक्दो रहेछ।

आठ वर्षपछि परिवारलाई भेट्दा शान्ताको हालत त्यस्तै थियो।

गोरखा, पालुङटारकी शान्ता परिवारसँग बिछोडिएको सन् २०१० डिसेम्बरमा हो। त्यसै वर्ष उनी बिचौलियामार्फत् भारतको नयाँदिल्ली हुँदै साउदी अरब पुगेकी थिइन्। एकैचोटि बिहीबार फर्किन्।

साउदी हिँड्दा बाबुछोरी सँगै थिए।

परिवारको आर्थिक गर्जो टार्न र बहिनीहरूलाई पढाउन सकस भएपछि यी बाबुछोरीले सँगै अरब जाने निधो गरेका थिए। एउटै बिचौलिया समाते। एउटै देशमा सँगसँगै काम मिलाए। र, उनैमार्फत् भैरहवाबाट सुनौली हुँदै नयाँदिल्ली पुगे।

नयाँदिल्लीसम्म बाबुछोरी सँगै थिए।

त्यहाँ पुगेपछि बिचौलियाले भन्यो, ‘अब यहाँबाट तपाईंहरू फरक–फरक जहाजमा साउदी जानुहुन्छ।’

हस्तबहादुर र शान्ता अत्तालिए।

‘आत्तिनुपर्दैन,’ बिचौलियाले सम्झाए, ‘पाँच घन्टाको कुरा हो। साउदी पुगेपछि एयरपोर्टमै भेट भइहाल्छ। अनि त्यहाँबाट काम गर्ने ठाउँसम्म सँगसँगै जानू।’

मन बेचैन थियो, तै सम्हालिए।

नयाँदिल्लीबाट केही समयको फरकमा दुइटा जहाज साउदी उड्यो। एकै सपना साँचेका बाबुछोरी पनि दुई अलग–अलग जहाजमा उडे।

त्यसपछि यी दुई सपना आपसमा कहिल्यै जोडिएनन्।

बाबुछोरीको भेट भएको आठ वर्षपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हो, जहाँ उनीहरूका टुटेका सपना एकाकार भए, फरक रूपमा।

साउदी जाँदा शान्ता आठ कक्षा पढ्थिन्। पढ्ने धोको थियो। दुवै छोरी पढाउने र घरखर्च धान्ने हस्तबहादुरको हैसियत थिएन।

उनले छोरीसँग सल्लाह गरे। बाबुको आग्रह शान्ता किन नकार्थिन्!

‘आठ कक्षा पढ्दापढ्दै छोरीको स्कुल छुटाएर लगेँ, उसलाई पनि अलपत्र पारेँ, आफू पनि अलपत्र परेँ,’ हस्तबहादुरले भने, ‘अहिले सम्झिँदा पनि दिक्क लाग्छ।’

‘ऊसँगै स्कुल जाने नानीहरू क्याम्पस पढ्ने भइसके। मैले पनि परिवारको सुख निम्ति छोरीको पढाइ नछुटाइदिएको भए ऊ पनि क्याम्पस जान्थी,’ उनले भने।

‘धन्न बाँचेर आई। यसैमा सन्तोष छ।’

उनलाई आफ्नो सपना तुहिएकोमा जति दुःख छ, त्योभन्दा ठूलो बोझ पराई भूमिमा छोरी हराउँदा भएको थियो।

साउदी विमानस्थलमा ओर्लेपछि यी बाबुछोरी दुवैले एकअर्कालाई खुब खोजे।

भेटिएनन्।

एयरपोर्टमा लिन आएकाहरूलाई हस्तबहादुरले भने, ‘मेरी छोरी पनि आउँदै छे। हामी सँगै जाने हो।’

शान्ता उसैगरी भन्दै थिइन्, ‘मेरो बुबा आउँदै हुनुहुन्छ। हामी सँगै जाने हो।’

न आउने मान्छे आए, न उनीहरूले पर्खेर बस्ने अनुमति नै पाए।

त्यतिबेला छुट्टिएको, छुट्टिएका छुट्टिए भए।

‘साउदीमा भेट्ने भनेर छुट्टिएकी छोरीलाई आखिरमा नेपालमै भेट भयो,’ हस्तबहादुरले भने।

साउदी विमानस्थलबाट छुटेपछि उनी केही समय उतै बसे। छोरीको खबर आउला भन्ने आस थियो, आएन। बेपत्ता छोरीको सम्झनाले पिरल्यो। यता घरकाले सोधेका सोध्यै गर्थे, जसलाई जबाफ दिन उनीसँगै कुनै सूचना थिएन।

आखिरमा छोरी गुमाएपछि उनलाई एक्लै साउदीमा टिकेर बस्न गाह्रो भयो।

काम छाडे। उनलाई जेल हालियो। एक महिना जेल बसेपछि नेपाल फर्किए।

‘म त फर्कें, सँगै गएकी छोरी उतै थिई। आफ्नै लापरबाहीले विदेशी भूमिमा छोरी गुमाएर आएको अभागी बाबु थिएँ म। त्यो पीडाले मलाई न चैनसँग बाँच्न दियो, न म मर्नै सक्थेँ,’ उनले भने।

सुरु–सुरुमा त शान्ता फर्केलिन् भन्ने आश थियो। खबर आउन छाडेपछि त्यो पनि हराउँदै गएको उनले बताए।

उता, शान्ताको हालत झनै नाजुक थियो।

बाबुसँग छुट्टिएको पीडा त थियो नै, सँगसँगै जुन घरमा काम गर्न पुगिन्, त्यहाँ परिवारसँग सम्पर्क गर्ने अनुमति थिएन। सुरुमा आक्कलझुक्कल कुरा हुन्थ्यो। अलिअलि पैसा पनि पठाइन्। कडिकडाउ बढ्दै गएपछि सम्पर्क ठप्पै भयो।

‘तलब दिन्थ्यो, तर काम गर्न गाह्रो थियो। घरमा खबर गर्न पाइन्थेन। फोन गर्न खोज्यो कि हप्कीदप्की लाउँथ्यो,’ उनले भनिन्, ‘यही कारणले साउदीमा बसुञ्जेल परिवारसँग सम्पर्क गर्न पाइनँ। को कहाँ छ, कसको हालचाल के छ भन्नेसम्म थाहा भएन।’

यहाँसम्म कि, काठमाडौंबाट सँगै उडेका बाबुको अवस्थाबाट पनि उनी बेखबर थिइन्।

‘म त्यस्तो हालमा छु, सँगै गएको बुबा कहाँ कुन अवस्थामा हुनुहोला भन्ने चिन्ताले सधैं खाइरहन्थ्यो,’ उनले भनिन्, ‘बूढो मान्छे, काम गर्न सक्नुभयो कि सक्नुभएन भन्ने सुर्ता पनि हुन्थ्यो। यता घरमा फोन गरेर सोध्न पाएको भए तैबिसेक थाहा हुन्थ्यो, तर कतै खोजखबरै गर्न नपाई अन्धकारमा बस्नुपरेपछि मलाई त जिउँदै मरेजस्तो भयो।’

यही सुर्तैसुर्तामा शान्ताले चार वर्ष बिताइन्। अन्ततः उनको धैर्यको बाँध टुट्यो।

उनी भागिन्।

र, अर्कै परिवारमा घरेलु काम गर्न थालिन्।

नयाँ ठाउँका साहु अलि उदार मनका परेछन्। उनले नेपालमा सम्पर्क गर्न दिन्थे।

त्यतिबेलासम्म ढिला भइसकेको थियो।

यो अवधिमा नेपालको पुरानो फोन नम्बर फेरिएछ। लामो समय सम्पर्कविहीन रहेकीले उनलाई नयाँ नम्बर थाहा थिएन।

शान्तालाई नेपालसँग जोड्ने एउटै तार थियो, त्यो पनि चुँडियो।

यसैबीच उनको पासपोर्ट नवीकरण गर्ने बेला आयो। नयाँ साहु पासपोर्ट लिएर नेपाली दूतावास गए। यो वर्षदिनअघिको कुरा हो।

‘पासपोर्ट नवीकरण गर्न आउँदा हामीले थाहा पायौं, उनी एक वर्षअघि नै नेपाल फर्किसक्नुपर्ने थियो। अहिलेसम्म किन नपठाएको भनेर सोधखोज गर्यौं,’ साउदीस्थित नेपाली दूतावासका कर्मचारी विजयकुमार राउतले भनेका छन्।

त्यसपछि साहुले शान्तालाई दूतावासको सम्पर्कमा पुर्याइदिए। त्यहीँबाट नेपाल फर्काउने प्रक्रिया सुरु भयो। तलब र अन्य खर्च सबै बेहोर्न उनी तयार भए।

घर फर्किने चाँजो त मिल्यो, तर यता आफ्नो परिवार पुरानै ठाउँमा छ कि सरिसक्यो भन्नेमा उनलाई दुबिधा थियो।

शान्ता र परिवारको मिलनमा पुल बनिन्, नागरिक अगुवा शारदा भुषाल।

उनी वैदेशिक रोजगार क्रममा बिचल्ली परेका महिलाको उद्धार गर्ने अभियानमा खटिएकी थिइन्। यसको जानकारी पाएपछि साउदीस्थित नेपाली दूतावासका कर्मचारीले सम्पर्क गरे। र, शान्ताको घटना बताएर उनलाई परिवारसँग भेटाउन सहयोग मागे।

शारदाकै पहलमा परिवारको खोजी सुरु भयो। फेला परेपछि उनले बुबा हस्तबहादुरलाई दूतावाससँग सम्पर्क गराइदिइन्।

शान्ता दूतावासमै रहेका बेला हस्तबहादुरसँग टेलिफोन कुराकानी भयो।

आठ वर्षअघि छुट्टिएका बाबुसँग बिहीबार भेटमा उनी यी सबै घटनाक्रम सम्झँदै थिइन्।

‘जे हुनु भइहाल्यो, अब नेपालमै केही गर्छु,’ उनले भनिन्, ‘के गर्छु भनेर अहिल्यै सोचिसकेकी छैन। केही समय परिवारसँग बिताउँछु, अनि सोच्नुपर्ला।’

आठ वर्षको साउदी अनुभवले जिन्दगीकै पाठ भने पढाएको उनी बताउँछिन्।

‘महिलाहरूले अर्काको भरमा त्यत्तिकै वैदेशिक रोजगारमा जान नहुने रहेछ,’ भनिन्, ‘विदेशमा काम गर्ने धेरै महिलाको हालत बहुतै खराब छ। म त महिलालाई वैदेशिक रोजगारमा नजान नै सल्लाह दिन्छु।’

सेतोपाटीबाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu