प्रधानमन्त्री ओलीले नेपालको बिकाश र सम्बृद्धिमा कायापलट गर्छ,ओलीलाई भारतको पूर्ण समर्थन छ: प्रभावशाली भारतीय नेता जोली (भिडियो)

नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले भने,‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट अझै धेरै सहयोग रहने व्यक्त गर्छु।’ भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाई थियो । जोलीले भने,‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ।’

साक्षात्कारमा उनले आफूले पहिलोपटक काठमाडौं बाहिरको भ्रमण गरेको उल्लेख गर्दै भने,‘मलाई पहिलोपटक काठमाडौं बाहिर पश्चिम नेपाल जाने अवसर मिल्यो, पश्चिम नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएको छ, सुनौली, भैरहवा, बुटवल, वालिङ, पोखरा यी सबैलाई जोड्ने सिद्धार्थ हाईवेले जोड्छ, जुन १९६४ मा भारत सरकारको सहयोगमा निर्माण सुरु भएर १९७१ मा सम्पन्न भएको थियो, यो १८१ किलोमिटरको लामो हाईवे बनेको हो।’

उक्त हाईवे अहिले जर्जर अवस्थामा रहेको जोलीको गुनासो छ । उनले थपे,‘सडकहरु फुटेका छन्, जीर्ण अवस्थामा छन्, सन् २०१८ मा यदि पश्चिम नेपालको विकास भएको हेर्न मन छ भने पोखरा जाने सडकलाई स्तरोन्नती गर्न जरुरी छ, रेभिन्यू बृद्धि गर्ने हो भने, अब सिद्धार्थ हाईवेलाई ५ लेनको बनाउन जरुरी छ, म यो कुराको ध्यानाकार्षण गराउन चाहन्छु।’

उनले आफूले यस सम्बन्धमा भारत र नेपाल दुवै तर्फका सम्बन्धित निकायसँग कुरा राख्नेपनि सुनाए । उनले थपे,‘यस सम्बन्धमा म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी, रेल तथा सडक यातायात मन्त्री नीतीन गड्करी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग पनि कुरा राख्न चाहन्छु।’ उनले पश्चिम नेपालमा बस्ने साँढे ४९ लाख नेपालीहरुको विकास र समृद्धिको लागि पनि यो सडक स्तरोन्नती गरेर ५ लेनको बनाउनुपर्नेमा जोड दिए ।

हेर्नुस भिडियो

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu