समृद्ध, शान्त र सुरक्षित नेपाल: भारत र चीनको पनि सान !

भारत र चीनले नेपाल र नेपालीका लागि के गर्दा हाम्रा छिमेकीको पनि भलो हुन्छ ? अनि के अहिले भारतले अख्तियार गरेको नेपाल नीति नेपाल–भारत जस्ता धार्मिक, सामाजिक सांस्कृतिकरुपमा अति निकट मित्र देशको हितमा छ त ? दुवै देशको बदलिँदो राजनीतिक अवस्था र नेतृत्वले हिजोकै छिमेक नीतिमा चल्दा दुवै देशका जनतालाई लाभ छ त ? अनि आर्थिक सम्वृद्धिको शिखर चुम्दै गएको छिमेकी मित्र चीनले नेपालको बदलिँदो राजनीतिक अवस्थामा कसरी अगाडि बढ्दा ऎतिहसिक उपलब्धि हासिल हुन सक्छ भन्ने बारेमा सशत्र प्रहरीबाट अवकास भएका एआईजीपी डाक्टर ठाकुरमोहन श्रेष्ठको बुँदागत टिप्पणी साँघु साप्ताहिकबाट साभार ।

ठाकुरमोहन श्रेष्ठ

१) भारतले अव विश्व परिवर्तनको धारसंगै नेपालसंगको ऐतिहासिक सम्वन्ध र विश्वासलाई अत्यन्तै गम्भीर भएर आपसी हित र समझदारीको आधारशीलामा वसुधैवकुटुम्वकमलाई वलियो तुल्याउन धर्म निरपेक्ष र संघीयताका सम्वन्धमा पुनर्विचार अध्ययन गर्नुको विकल्प देखिदैन । संक्षेपमा भारतको ‘रअ’ले पनि अब नेहरु डक्ट्रीनको परम्परागत ढांचाको रणनीति र व्यवहार होईन नेपाल भ्रमणमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नु भएको ऋषिमन र सो अनुरुपको व्यवहार, “रअ” ले पनि विश्वास बढाउन सकेन भने नेपालमा ऊ पनि कमजोर कडी हुने निश्चित छ ।

२) बेलायती सर मेकालेको शिक्षाको कुप्रभावको रणनैतिक कुचाल एशियामा अझै व्याप्त रहिरहुन हिमवत् खण्डे र भारत खण्डेको संस्कृति, समाज, संस्कारविरुद्धको चाल र कदमलाई निश्वार्थ पुनर्मूल्यांकन गरेर नैतिक शिक्षामा आधारित गुणस्तरीय व्यवसायिक शिक्षा विकास हुनै पर्दछ । अव पनि घोषित वा अघोषित नाकावन्दी र सीमा हस्तक्षेप जस्ता लज्जित व्यवहारलाई तत्कालै वन्द गरी आपसी हित र समझदारीका आधारमा उपयुक्त कूटनीति समयानुकूल हुन सकेन भने भारतका लागि नेपाल कमजोर कडी हुने देखिन्छ ।

३) शान्त, सुरक्षित तथा विकसित नेपालले मात्र भारत र चीनको वीचमा पंचशीलको आदर्शको तटस्थ परराष्ट्रनीतिको पूर्णपालना गर्न सक्नेछ । ग्लोवलाईजेशन, डाईभर्सिफिकेशन, र नयाँ प्रविधिको विकासले एक देशको नागरिकभन्दा पनि विश्वमानवको परिवेशले स्थान लिईरहेको सन्दर्भमा नयाँ सोच हुनै पर्दछ ।

४) नेपालले पनि संविधानमा उल्लेखित समाजवादको नेपाली माटो सुहाउदै स्पष्ट परिभाषा हुनु अनिवार्य छ, जसको आधारमा देशको समग्र दिगो विकास र राष्ट्रिय सुरक्षाका लागि अव व्याकगेयर(संघीयताको तह घटाएर भए पनि देश हितमा अघि बढ्न) को उपयोग गरी पुनः अग्रगामी सोचमा अघि बढ्नु ठीक हुनेछ । नेपालीले पनि नेपालको भूमिलाई भारत वा चीनको विरुध्द प्रयोग नहुने राजनैतिक नैतिक दायित्वसहितको जिम्मेवार नेतृत्व आचरण र शैलीसहित विश्वास जित्नु पर्नेछ ।

५) नेपालको जलको सदुपयोग गर्नका लागि चाईनाको पूँजी, नविन तथा सस्तो प्रविधि र भारतको पूँजीगत लगानीमा वजार समेत सुनिश्चि गरिनु औचित्यपूर्ण छ ।

६) चीनको वान वेल्ट वान रोडको सन्तुलनका लागि नेपाललाई समुन्द्र पुग्ने जलमार्गको नेटवर्क सहज वनाउनु पनि हरेक दृष्टिले लाभदायक हुनेछ । यसका लागि नेपाल, भारत र वंगलादेशको हितलाई पनि उपयोग हुने सोच रहनु प्रभावकारी हुनेछ ।

७) अव सशस्त्र आन्दोलन गर्ने कुनै पनि मुकुण्डोधारी समूहले ख्याल गरे हुन्छ लगाम वा चावी अन्यत्र राखेर नेपालमा संघर्ष वा युद्ध संचालन गर्नु भनेको नेपालको उज्जवल भविष्यमा कुठाराघात गर्नु वाहेक केही हुने छैन । यदि नेपाली माटोले पुनः आन्दोलन वा युध्द मागेमा नेपाली स्रोत साधन र नियन्त्रणमा नहुने हो भने अर्थहीन हुनेछ । साथै भारतले पनि कुनै पनि सशस्त्र समूहलाई संरक्षण दिई विगतका झै माओवादीका उच्च नेताहरु तथा २००७ सालमा ने.का. का नेताहरुले पाएको संरक्षण तथा बिराटनगरवाट उडेको प्लेन अपहरणका घटना, भुटानी शरणार्थी जस्ता गतिविधि सदाका लागि वन्द हुनुमा आपसी हित कल्याणका पक्षमा देखिन्छ ।

८) भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान वनाउने र चाईनाले सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान वनाउने, माईक्रो मेनजमेण्टमा मात्र केन्द्रित रहने, कूटनैतिक कर्मचारी प्रहरी र प्रशासनको उच्च पदको सरुवा/बढुवामा रमाउने लज्जाजनक गतिविधिको घेरावाट वाहिर निस्केर भारत र चीन दुवै सजग हुनै पर्दछ पश्चिमी दीर्घ रणनीतिको ककपीट नवनोस् नेपाल ।

९ ) मानव सभ्यता र संस्कार जोगाउनमा पनि भारत, चाईनालगायत विकसित देशहरु समेत सचेत हुनै पर्दछ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu