नेपालबाट ५ सय केयरगिभर लिने इजरायलको तयारी तर कामदारसंग सेवा शुल्क लिन पाउनु पर्ने शर्त

इजरायलले अबको एक वर्षभित्र ५ सयलाई रोजगारी दिन सकिने नेपाललाई जानकारी गराएको छ। मंगलबार इजरायली राजदूत बेन्नी ओमर, इजरायलमा आवश्यक पर्ने जनशक्ति खोज्ने जिम्मा पाएको पिबा र वैदेशिक रोजगार विभागका अधिकारीबीचको छलफलको क्रममा इजरायलले उक्त जानकारी गराएको हो।

इजरायलले जानकारी गराएको उक्त संख्या हालसम्मकै उच्च हो । विभागका महानिर्देशक भुवन आचार्यले इजरायलले एब वर्षभित्र पाँच सय युवायुवतीलाई रोजगारी दिन सकिने जानकारी दिएको बताए । ‘इजरायलको तर्फबाट पाँच सय युवायुवतीलाई लैजान सकिने सूचना आएपनि के, कसरी लैजाने हो, त्यसबारेमा ठोस निर्णय भएको छैन,’ आचार्यले भने, ‘नयाँ कोटाबारेको छलफल प्रारम्भिक भएकाले पनि केही प्रस्टता हुन आवश्यक ठानेका छौं।’

अहिलेको प्रावधान अनुसार इजरायलमा केयरभिगरको काममा जान २५ वर्ष उमेर र तीन महिनाको तालिम अनिवार्य गरिएको छ । केयरगिभरमा जान खोज्नेले आवेदन दिने र त्यस्ता युवायुवतीलाई पिबाले आफूखुशी छनोट गरी एक सय जनामा झारेर परीक्षा लिने गर्छन् । पछिल्लो दुई वर्षको अवधिमा आवेदन दिएकामध्ये दुई सयलाई परीक्षा गराएर एक सय १९ छनोट गरिएको थियो । महिनामा सरदर एक लाख रुपैयाँ पारिश्रमिक पाइने र लागत खर्च पनि एक लाख रुपैयाँ भन्दा बढी नहुने भएकाले इजरायलको रोजगारी आकर्षक मानिन्छ । इजरायलमा जिटुजी सम्झौता भएका कारण विभागले मात्र कामदार पठाउन पाउँछ।

अनलाइनखबरमा रविन भट्टराईले जनाए अनुसार सरकारीस्तरमै सेवा शुल्क तोक्नुपर्ने इजरायलको शर्त छ । इजरायलले अब विदेश जाने एउटा कामदारसँग १ हजार डलर -एक लाख रुपैयाँसम्म सेवा शुल्क लिन पाउनुपर्ने माग गरेको छ । विभागले इजरायललाई औपचारिकरुपमा त्यस्तो प्रस्ताव गरेमा छलफल अघि बढाउन सकिने जवाफ दिएको छ ।

जिटुजी प्रक्रियामा इजरायल जान पाइने भएपछि यतिखेर बजारमा करिब १० हजार युवायुवतीले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयरगिभरका लागि छनोट भएका थिए।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu