नेपालीकै लगानीमा अरुण तेस्रो जस्ता ४ वटा ठूला परियोजना बनाउन सकिन्छ

-अरुण कुमार लुइँटेल

नेपाली राजनीतिक अस्थिरताको कारण बिगत १० बर्ष यता नेपाली युवा शक्ति विदेशिने क्रम तिब्र रुपमा बढेर गएको छ । बेरोजगारको चरम स्थितिबाट पार पाउन विभिन्न खाडी सहितको मुलुकमा नेपाली युवाशक्ती लगभग ४० लाखको हाराहारीमा आफ्नो पसिना चुहाउन बाध्य भएका छन्।यस्तै अवस्था रहिरहेमा अझै यो सङ्ख्या घट्ने नभइ बढेर दोब्बर हुने निश्चित नै छ।

देशमा उद्योगधन्दा खुल्न सकेका छैनन्, उत्पादन शुन्य छ,व्यापार घाटाले देश जर्जर अवस्थामा पुगिसकेको छ, संघीयतालाई धान्नको निम्ति विदेशी ऋण लिनुपर्ने अवस्थाको सिर्जना भैसकेको छ भने जनतालाई करले ढाड सेकेर नेताहरूलाई तलबभत्ता खुवाउनुपर्ने स्थितिको सिर्जना भैसकेको पनि कोहिबाट छिपेको छैन। यस्तो स्थितिमा देशलाई सन्तुलनमा ल्याउने एउटै मात्रै आधार हो-देशभित्रकै प्राकृतिक स्रोत-साधनलाई उचित सदुपयोग गर्दै त्योबाट भरपूर नाफा कमाउने,नेपालमा आम्दानीको स्रोतको सबैभन्दा मुख्य केन्द्रबिन्दु भनेकै जलस्रोत हो, ८३ हजार मेगावाट क्षमता भएका नेपाली नदिहरुबाट १०% विद्युत मात्रै नेपाल आफैले उत्पादन गर्न सक्ने हो भने नेपालको अर्थतन्त्र १० बर्षमै कायापलट हुनेमा कुनै शंका छैन ।

नेपाली राजनीतिमा खिचातानीको सिकार बनेको नेपालको जलस्रोत एकपछि अर्को गर्दै भारतले आफ्नो नियन्त्रणमा लिदैछ । नेपालका नेताहरूले सत्ताको लागी एकपछि अर्को गर्दै नेपालका नदिनालाहरु कौडिको भाउमा भारतलाई बुझाउदै गएको कुरा पनि कोहिबाट छिपेको छैन । यसैक्रममा योपटक अरुण तेस्रो पनि सत्ताकै लागी बलि चड्दैछ ।

यदि नेपाल सरकारले चाहने हो भने अरुण तेस्रो जस्तो ४ ठुला परियोजना नेपालीहरुकै लगानीमा आरामसँग बनाएर भारत, पाकिस्तान र बंगलादेशलाई बेचेर बर्षेनी खरबौ रुपैयाँ नेपाल भित्र्याउन सक्छ। लगानीको क्षेत्र नभेटेर सुन, मोबाइल, टेलिभिजन, कम्प्युटर, घर, जग्गा आदिमा पैसा खर्च गर्दै आएका ४० लाख विदेशीएका नेपाली युवाहरूलाई प्रतिब्यक्ती १ लाख रुपैयाँ मात्रै ( जतिसुकै कम्ती तलब हुने नेपालीको ५ महिनाको बचत ) जलस्रोतमा लगानी गर्न आह्वान गर्ने हो भने ४ खर्ब रुपैयाँ विद्युत उत्पादनको लागी जम्मा हुन्छ, यो पैसाले नदिनाला उपयोग गर्दै करिब ३५०० मेगावाट बिजुली क्षमता भएका विभिन्न परियोजनाहरु नेपालीहरुकै लगानीमा सजिलैसँग खुल्छन ।

नेपालीकै लगानीमा परियोजना खुल्दा केके फाइदा छन् त ?

१. नेपाली सिमेन्ट उद्योगहरु फस्टाएर जान्छन्, जसको कारण रोजगारको साथै नेपाल सरकारलाई करको रुपमा अर्बौं रुपैयाँ उपलब्ध हुन्छ ।
२. ढुंगा र बालुवा खानीहरुको निर्माण गरि त्यहाँबाट पनि सरकारले कर असुल्नको साथै हजारौं नेपालीहरुलाई रोजगार उपलब्ध गराउन सक्छ ।
३. निर्माण कार्यमा मजदुरदेखि लिएर ठूलाठूला पदहरुमा नेपालीलाई नै रोजगारी दिई प्रत्यक्ष र अप्रत्यक्ष गरेर लाखौ नेपालीलाई देशभित्रै रोजगार दिलाउन सक्छ ।

विद्युत उत्पादन हुन थालेपछि २५ बर्षको लागी नेपाल सरकार आफुले २५% बिजुली ( ८७५ मेगावाट, जुन अहिले भारतले नेपाललाई दिएको भन्दा ४% बढी हो ) लिएर भारतबाट आयत गरिएको बिजुली कटौती गर्दै देशबाट निर्यात हुने पैसालाई जोगाउन सक्छ जुन पैसालाई उसले अन्य उत्पादन क्षेत्रमा लगानी गरेर अरु रोजगारको सिर्जना गर्न सक्छ ।बाँकी रहेको ७५% ( २६२५ मेगावाट ) बिजुली २५ बर्षसम्म डलरमा अन्य मुलुकलाई बेचेर आज अरुको देशमा नोकर भएर बसेका युवा भोली आफ्नै देशमा मालिक भएर जिन्दगी बिताउने मौका पाउनेछन ।

ओ,सरकार नेपाली युवा चै तिम्रो सत्ताको खिचातानीमा सधैभरी अर्काको नोकर भएर मात्रै बस्नुपर्ने हो ? अब त हामीलाई आफ्नै देशको मालिक बन्ने मौका देउ……..

झापा, हाल युएई

प्रकाशित मिति : २०७४ चैत २१,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu