एउटा असफल क्रान्तिकारीको आत्मा समीक्षा

कविता

-मणि भट्टराई 

खहरे रहेछु
त्यसैले त बगाएर लगेछु
गरीबको एक चोक्टो खेत पनि
पाखो बारी र झुपडी पनि
गोठमा बाँधिएका केही थान गाईभैसीहरू
र आँगनमा खेलिरहेका स-साना नानीहरू पनि ।

भत्काएर लगेछु
एक गाऊँ र अर्को गाऊँ जोड्ने पुल पनि
यति निर्दयी र कठोर भएछु कि
ढुंगै ढुंगा थोपरी दिएछु
फूल भन्दा कोमल
मान्छेका सम्वेदनाहरूमा ।

सँच्चिकै खहरे रहेछु
फूलबारीलाई काँसघारी बनाइदिएछु
धानबारीलाई बगर
पाखोबारीलाई पहिरो
घरलाई चिहान
भूल गरेछु –
क्रान्ति गरें भन्ने ठूलो भ्रममा परेछु ।

कतै माऊ विनाका बचेराहरू
कतै बचेरा विनाका माऊहरू
काकाकूल जस्तो
कतै बतासिएको छ यो देशको भविष्य
कुनै अनिश्चित भविष्यको खोजमा ।

साँचिकै अफसोस लाग्छ बेला बेला
ग्लानी हुन्छ
क्रान्तिको भ्रममा
उराँठ बनाएछु आफ्नै धर्ती
बाँझो बनाएछु आफ्नै बारी ।

कति न विद्रोह गरें भनेको
कति न युद्द लडें भनेको
यतिखेर
म योद्दा – बुख्याँचा जस्तो देखिएको छु
आफ्नै नजरमा
आफ्नै इतिहासको पानामा ।

म केवल एक भेलबाडी रहेछु
फगत एक आबेग
एक दम्भ
एक महत्वकाँक्षा
एक स्वार्थ
के के न बिद्रोह गरें भनेको
बगाएर लगेछु बगाउनै नहुने कुराहरू पनि
जस्तो कि,
यी मान्छे मान्छे बीचको गहिरो सद्भाव !

यदि म क्रान्तिकारी हुँदो हुँ त
युद्द आज पनि जारी हुन्थ्यो
युद्द भोलिको निम्ति पनि तयारी हुन्थ्यो
युद्द अविच्छिन्न समय जस्तो हुन्थ्यो
युद्द फोक्सोको सास र मुटुको गति जस्तो हुन्थ्यो
युद्द एक अनबरत यात्रा जस्तो हुन्थ्यो
युद्द एक अविच्छिन्न सर्त जस्तो हुन्थ्यो
अहँ !
त्यसरी गाऊँबाट सुरू भएको युद्द
यसरी सिहदरबारमा अन्त्य हुँदै हुँदैन थ्यो ।

साँच्चै !
युद्द क्रान्ति हुनलाई त
त्यो निरन्तर अझै पनि
बारीका पाटामा उम्रिरहेको
खेतका गरामा झुलिरहेको
र कसौंडीमा फत्किरहेको हुनुपर्थ्यो ।

तर खै त त्यो सबै ?

बरू, हरेक दिन
पासपोर्टको पखेटा लाएर
उडिरहेछन् यो देशका ज्यामी कमिलाहरू
माथि माथि कतै बादलमा
बालुबालाई निशाना बनाएर ।

आफू आफैभित्र
आत्माग्लानीमा उभिएको
आफ्नै दम्भहरूले आफैभित्र डढेको
आफैसँग पनि पराजित
यो युगको सबैभन्दा पछिल्लो
एक हरूवा क्रान्तिकारी हुँ म
म पुराका पुरा आत्मसमर्पण गर्न चाहन्छु
माफी माग्न चाहन्छु म
मैले रचेका
मेरा इतिहाँसका सबै सबै दुर्घटनाहरूसँग ।

प्रकाशित मिति : २०७४ चैत ३०,शुक्रबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu