ट्रम्प राष्ट्रपतिका लागि नैतिक रुपमा अनुपयुक्त

अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) का पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि नैतिक रुपमा उपयुक्त नरहेको बताएका छन् ।

ट्रम्पले महिलालाई ‘मासुको टुक्रा’ जस्तो गरी लिने गरेकाले उनी राष्ट्रपतिका लागि नैतिक रुपमा अनुपयुक्त रहेको कोमीले बताएका हुन् ।

गएको वर्ष बर्खास्त भएपछिको आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ताको क्रममा कोमीले ट्रम्पले बारम्बार झुठ बोल्ने गरेको पनि बताए । ट्रम्पबाट बर्खास्त भएका कोमीले एबिसी टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा ट्रम्पले महिलालाई मानव नभइ बस्तुको रुपमा वा मासुको टुक्रा या अंशको रुपमा मात्रै लिने गरेको बताएका हुन् ।

ट्रम्पले धेरै पटक न्याय प्रक्रियामा बाधा पुर्‍याउने कोशिश गरेको पनि कोमीले आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले कोमीको अन्तर्वार्ता प्रशारण हुनु भन्दा केही घण्टा पहिले कोमीलाई नै लक्षित गरी विभिन्न आरोप लगाएका थिए । उनले कोमी धेरै झुठहरुको भण्डार रहेको आरोप लगाए ।

कोमीले एबिसीको शनिबार रातिको २०/२० कार्यक्रममा भनेका छन्, ‘मेरो विचारमा डोनाल्ड ट्रम्प स्वास्थ्य तथा नैतिक दुवै रुपले राष्ट्रपतिका लागि योग्य छैनन् ।’

उनले अघि भनेका छन्, ‘हाम्रो राष्ट्रपतिले मुख्य रुपमा सम्मानको सञ्चार गर्नु पर्छ र देशको केन्द्रीय मूल्यको सम्मान गर्नु पर्छ । यस्तै सत्य हुनु पर्छ । अहिलेका राष्ट्रपतिमा यो कुराको कमी छ ।’

कोमीको अन्तर्वार्ता प्रशारण भएपछि ट्रम्पको पार्टी रिपब्लिकनको नेशनल कमिटिले वक्तव्य जारी गरी आलोचना गरेको छ । कोमीले आफ्नो पुस्तकको प्रचारका लागि सबै कुरा बोलेको र उनको निष्ठा देश प्रति नभई आफू प्रति नै रहेको देखिएको रिपब्लिकन पार्टीले बताएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu