प्रचण्ड देशको सबैभन्दा ठूला ठेकेदार हुन्,उनले साना ठेकेदारलाई चलाउने हुन् : प्रकाण्ड

काठमाडौं -नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) केहिदिन अघि सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका हुन्। सर्वोच्च अदालतले पटक-पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सर्वोच्चले सचेत पनि गराएको थियो।

जेलमुक्त भएपछि प्रकाण्डले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलको चर्को आलोचना गरेका र तिखो अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीलाई समेत दुई तिहाईको दम्भ नदेखाउन चेतावनी समेत दिएका थिए।

एभिन्युज टेलिभिजनको कार्यक्रम ‘संवाद’मा कुराकानी गर्दै प्रकाण्डले आफ्नो पार्टीले कसैसँग पनि जबर्जस्ती चन्दा नउठाएको र जबर्जस्ती भन्ने कुरा आफ्नो पार्टीको सिद्धान्त नभएको दाबी गरे।तर जनताको लागी गरिएको क्रान्तिको लागी चन्दा आवश्यक भएको र त्यसको लागी चन्दा उठाउन भने नछोडिने र त्यसरी उठाईने चन्दा जबर्जस्ती भने नहुने प्रस्ट प्रकाण्डले पारे।

नेकपाका अध्यक्ष प्रचण्ड आफैं ठूला ठेकेदार हुन्,उनले साना ठेकेदारलाई चलाउने हुन्।प्रचण्ड ‘हेड ठेकेदार’ र अरु ‘पेटी ठेकेदार’ भएको आरोप प्रकाण्डले लगाए।

‘नेपालमा अब जनयुद्ध हुँदैन,अबको क्रान्तिको कार्यदिशा भनेको एकिकृत क्रान्ति हो।अब जनताले विगतको जनयुद्ध जस्तै हुन्छ कि भनेर चिन्ता गर्नुपर्दैन’, प्रकाण्डले आश्वास्त पारे।

राज्य संचालकहरुले नेपाली जनताका क्रान्ति र आन्दोलनलाई बन्दुकले दमन गर्नुपर्छ भन्नेतिर गए भने त्यसको काउण्टर गर्नतिर आफूहरु पनि हतियार उठाउन बाध्य हुने चेतावनी प्रकाण्डले दिए।

‘प्रचण्ड नेपालका धनी नेतामध्ये गनिन्छन्’, प्रकाण्डको आरोप छ।आफ्नो पार्टीसँग तुलना नेपालको कुनैपनि पार्टीसँग नहुने दाबी प्रकाण्डको छ।

हेर्नुहोस् प्रकाण्डसँगको कुराकानी 

प्रकाशित मिति : २०७५ असोज १६,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu