भेटियो १ किलो सुन,वास्तबिकता अर्कै, श्रम कार्यालयमा दलाललाई स्वागत पत्रकारलाई निषेध !

काम सजिलो हुन्छ भने २/४ पैसा खुवाउनुलाई कसैले पनि ठुलो कुरा नै मान्दैनन् हाम्रो नेपालमा । नेता र कर्मचारीहरु चाँही अमेरिका, बेलायत, जापान, कोरियाका जस्ता चाहिने अनि जनता चाँही यस्तै ?

नेता गतिलो चाहिनेले आँफु पनि गतिलो हुन जरुरी छ । यसो चिया पानी भन्दै, लाग्दै नलाग्ने दस्तुर तिर्न तयार जनताले पाउने नेता पनि, कर्मचारी पनि यस्तै हुन, यिनै हुन् । एउटा सानो बालक आफ्नो बाबु आमाले सजिलै पैसा खुवाएर छिटो छिटो काम बनाएको देखर हुर्कन्छ ।

अर्थात घुस खुवाउनु भनेको खासै ठुलो कुरो होइन । २/४ हजार दिएर सजिलै काम बन्छ भने कसले झण्झट गर्छ ? भन्ने सोचले जरा गाडेको छ भने तपाईलाई यो मुलुकमा परिर्वतन चाहिदैन, बेकारमा गफ नलगाउनुस् । १० मिनेट कुर्नुभन्दा १० हजार घुस खुवाउने तपाई जस्तै बेइमानीले गर्दा यो देश बहुत पछि परेको हो र यो पनि लेखेर राख्नुस कि जबसम्म देशका हरेक तह र तहका मानिसहरु गच्छे अनुसार करोडदेखि एक कप चियासम्म खुवाउन तयार रहन्छन् तबसम्म यो देश कुनै ओली, दाहाल, देउवाले त के थापा, शर्मा, अधिकारी, ठाकुर, यादव, सिंह, भट्राई, भुषाल, लिङदेन, मिश्रले पनि बनाउन सक्दैनन् ।

आफु बेइमानी बनेर इमान जमान भएको नेता कर्मचारी खोज्नुको के अर्थ ? आम सर्वसाधरण दर्शकहरुलाई एउटा सुझाब दिन चाहान्छु, कुनै पनि कार्यालयमा कर्मचारीले वा बिचौलियले पैसा माग्यो वा यसो चिया पानि भन्यो भने एकै पटक ठुलो स्वरमा कराइदिनुहोस् र सबैले सुन्ने गरी कसले कति पैसा केका लागि माग्यो त्यो, स्पष्ट हुने गरी भनिदिनुहोस्, त्यो पनि ठुलो ठुलो स्वरमा ।

यति गर्न सक्नु हुन्न भने यो देशमा परिर्वतन तपाइलाई भएपनि हुन्छ नभएपनि हुन्छ । जनस्तरबाट भ्रष्टाचारको विरोध र रोकथाम हुँदैन भने राजनीतिज्ञहरु बाट यो सम्भव छैन । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले आज गजवको लेख लेख्नु भएको छ ।

घुस माग्नेहरुको नाम सार्वजनिक गरेर मि टु अभियान थाले, भ्रष्ट्राचार उन्मुलनमा नयाँ प्रयास हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्कीको आईडियामा म त सय प्रतिशत सहमत छु र केही थप्न पनि चाहन्छु । जसरी मिटु अभियानले वर्षौ अघि यौन हिंसा गरेकाहरुको नाम सार्वजनिक हुँदैछ त्यस्तै वर्षौ अघिदेखि आजसम्म तपाईले को कसलाई कति कति घुस खुवाउनु प¥यो त्यसबारे लेख्न वा बोल्न सुुरु गर्नुहोस् ।

मलाई लाग्छ यो त गज्जब आइडिया हो । आउनुहोस्, एउटा इमान्दार कोशिस तपाई हामी मिलेर गरौं । अमेरिकाले शुरु गरेको अभियान जब विश्व भरबाट नेपालमा आउन सक्छ भने नेपालले चलाएको भ्रष्टाचार विरोधी अभियान विश्वमा फैलन सक्दैन भन्ने छैन ।

सामाजिक सञ्जालको प्रभाव संसार भर छ त्यसैले आउनुहोस् हामी पनि मिटु भने जस्तै ‘#म पनि’ अभियान चलाआँै ।  ह्यास ट्याग म पनि’ भनेर तपाईले कुन कार्यालयमा कसलाई कति घुस खुवाउनु परेको थियो भन्ने कुरा लेख्न सुरु गर्नुहोस् । सम्झिन सक्नु हुन्छ भने र केहि प्रमाण छन् भने सम्बन्धित कर्मचारीको नाम नै लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्नुहोस् ।

हैन भने कुन कार्यालय हो त्यो चाँही स्पष्ट पार्नुहोस् ताकी यो मुलुककको सबै भन्दा भ्रष्ट कार्यालय कुन मन्त्रालयको कुन विभाग अन्तर्गतको रहेछ भन्ने सबलाई थाहा होस् । आउनुहोस देशैभरबाट ‘ह्यास ट्याग  म पनि’ क्याम्पेनलाई सञ्चालन गरौँ ।

हुन त घुस दिनु पनि अपराध नै हो र घुस दिनुले हामीलाई गलत मान्छे बनाइसकेको छ । यो देश घुस लिनेहरुले मात्र हरिकंगाल बनाएका होइनन् घुस दिने तपाई हामी जस्ता सर्वसाधारणले पनि जानेर नजानेर साथ दिएका हौँ । तर घुस दिएर अपराध गरि सकेपछि कमसेकम प्रायश्चित त गरौँ ।

यदि सजाएको भागिदार हुुनु पर्छ भने सजाय भोग्न पनि तयार हौँ । घुस दिने तपाई हामी चाही असल र घुस खाने नेता कर्मचारी मात्र खराब हुनै सक्दैन । त्यसैले आउनुहोस्, खुलेर विगतमा दिएको घुसको बारेमा चर्चा गरौँ । म यसको शुरुवात आँफैबाट गर्न चाहान्छु ।
‘#म पनि’, २०५७ सालमा मैले आफ्ना नेपालीमा लेखिएका डकुमेन्टलाई अंग्रेजीमा उल्था गरी प्रमाणीत गर्न त्यतीबेला बबरमहल काठमाडौंमा रहेको किताब खानाका कर्मचारीलाई घुस खुवाएको छु । भोली पल्ट नै चाहिने अति आवश्यक ति कागजहरुको उल्था प्रमाणित गर्न कर्मचारीलले विचौलिया मार्फत घुस मागेपछि मैले बाध्य भएर पैसा दिएको थिए ।

कति पैसा म सम्झिन सक्दिन किन कि यो २०५७ सालको कुरा हो तर म बाट भएको यो अपराधका लागि म दण्ड भोग्न तयार छु । र फेरी पनि भन्छु ‘#म पनि’ । किताब खाना बबरमहलमा मसँग कर्मचारीले घुस लिए । यो मेरो स्टोरी हो, यसै गरी म तपाईहरुको स्टोरी थाहा पाउन चाहान्छु र ‘#म पनि’ क्याम्पेनलाई सफल पारिदिनु हुन अनुरोध पनि गर्दछु ।

यौन अपराधको विरुद्धमा मिटु संचालन भए जस्तै भ्रष्टाचार र घुसखोरी विरुद्ध म पनि अभियान नेपालमा चाही नम्बर एक टे«न्डीङमा आओस । राम्रो कामको नक्कल गर्न वा भनौ कपि गर्न लाज मान्नु हुँदैन । ‘#म पनि’ ।

नक्कली सुन – बजारमा ५९ हजार प्रति तोला मुल्य रहेको सुन प्रति किलो ४० लाखमै दिन्छु भन्ने कोही भेटिए भने होस गर्नुहोस् उनिहरु सक्कलीको मुल्यमा नक्कली सुन बेच्ने ठग हुनसक्छन् । २ साता अघि ज्ञानेश्वरकी अञ्जु शर्माले ४० लाख नगद तिरेर एउटा गिरोसँग सुन किनिन् तर घरमा पुगेर हेर्दा त सुनौलो रङ लेपन गरिएको नक्कली सुन पो रहेछ ।

घरबाट सुन बेच्नेहरुलाई फोन गर्दा सबै फोेन अफ थिए । घर परिवार कसैलाई पनि जानकारी नगराई लाखौमा खरिद गरेको सुन नक्कली परेपछि उनि निकै तनावमा थिइन् । सस्तोमा सुन किनेर बेच्दा छिटो समयमा मनग्य आम्दामी हुने लोभमा बसेकी अञ्जु अत्तालीदै हाम्रो कार्यालयमा आइन् ।

उनको घटना बुझेपछि यसका अनुसन्धान तथा कारवाहीको लागि हामीले केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीमा पु¥याआँै । केन्द्रिय अनुसन्धान व्युरोले एक सातामै उनलाई नक्कली सुन बेचेर लाखाँै ठग्ने गिरोहनै पक्राउ गरेको छ ।

अञ्जु शर्मालाई सुनसरी धरान १७ का पवन विकले १ केजी सुन ४० लाखमा पाइने भन्दै किन्न हौसाउँछन् । अञ्जुले सुन किन्न सहमत ४८ लाख लिएर न्युरोटमा पवन विक र उनका साथी धनुषा जनकपुर ९ का मनिष ढुङगानालाई भेटिन् । विक र ढुङगानाले जनही १ लाख रुपैयाँ कमिशन लिएर सुन किन्ने मान्छे खोज्ने काम गर्छन् ।

उनिहरुले अञ्जुलाई सर्लाही लालबन्दी ११ का रोहित मगर भनिने पूर्ण बहादुर पुलामीलाई भेटाए । उनि मुख्य योजनकार हुन् । उनिसँगै अर्का एजेन्ट सर्लाही हरिवनका बिवेक भनिने धनेश्वर कुमार दनुवार पनि थिए ।

उनि पनि १ लाख लिएर काम गर्ने एजेन्ट हुन् । उनिहरु सबैले बौद्ध स्थित एक होटलमा पैसा दिन र सुन अर्को दिन दिने योजना बनाए तर अञ्जुले सुन हात नपरेसम्म पैसा नदिने अडान लिएपछि धनकुटा राजारानी ६ की सलिना शेर्पा भनिने संगिता राईले भेटिन् । उनि ५ लाख रुपैयाँ लिएर काम गर्ने अर्की एजेन्ट रहिछन् ।

उनले केटाहरुको विश्वास नगर्न र अर्को दिन आँफुले सुन दिने भन्दै फकाइन् । अर्को दिन पुन संगिता राईले र उनका प्रेमी पर्सा बिरुवागुठी १ का सन्तोष कुमार लामाले बौद्धकै अर्को होटलमा बोलाए । त्यहाँ पुग्दा कालो सेलेटेपले खोल्न नसकिने गरी बेरिएको सुनकै जस्तो पाता दिए र ४० लाख पैसा लिए । घरमा पुगेर सुन परिक्षण गर्दा अञ्जु शर्मा छाँगाबाट खसे जस्तै भइन् ।

अहिले ६ जना सिआइबीको थुनामा छन् भने उनिहरुलाई ठगी र संगठित ठगी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुशन्धान भैरहेको सिआइबीले जनाएको छ । सिआइबीका प्रवक्ता सुदीप गिरीका अनुसार उनिहरु भन्दा माथिल्लो तहमा रहेको गिरोहको समेत खोजी कार्य भइरहेको छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu