भारतमा विषाक्त रक्सी सेवनबाट १०० जनाको ज्यान गयो, २०० भन्दा बढी सिकिस्त

भारतको पूर्वी-उत्तर राज्य आसाममा विषाक्त रक्सी खाँदा मृत्यु हुनेको संख्या सय नाघेको छ। दुई सयभन्दा बढी व्यक्ति बिरामी भएका छन्।

अधिकारीहरूका अनुसार बिरामीमा महिला पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने देखिएको छ। दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त रक्सीका कारण झन्डै सय जनाको मृत्यु भएको थियो।

आसामका गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्नेहरूले विषाक्त रक्सी खाएका थिए। गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको बताएका छन्।

गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले जानकारी दिए। यस्तै जोरहाट जिल्लामा १२ जनाको मृत्यु भएको छ।गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए।

अधिकारीहरूका अनुसार घटना छानिबिन गर्न एउटा समिति बनाइएको छ। राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा पक्राउ गरेको छ।त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुई अधिकारीलाई पनि निलम्बन गरिएको जनाइएको छ।

-नेपाल खबर

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu